काठमाडौं । केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका प्रणय शमशेर राणा कांग्रेस प्रवेश गरेका छन् ।
बिहीबार कांग्रेस सभापति गगनकुमार थापाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
उनी यसअघि नेपाली कांग्रेसमा नै आवद्ध रहेका थिए । तर रास्वपाको स्थापनापछि रास्वपामा गइ गत निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवार समेत बनेका थिए ।
रास्वपाबाट उम्मेदवार भएका राणाले अघिल्लो निर्वाचनमा ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए । तर रास्वपाले यसपटकको निर्वाचनमा टिकट नदिएको साथै उम्मेदवारको प्राइमरी इलेक्सनका लागि भन्दै पैसा उठाएको तर त्यो रकम फिर्ता नगरेको भन्दै उनले आपत्ति जनाउँदै आइरहेका थिए ।
केही दिनअघि रास्वपा छाडेका प्रणय राणाले आफू केही समय बाहिर गएको र फर्किएर पुनः घर आएको प्रतिक्रिया दिएका छन् । त्यस्तै उनले आफूले आगामी दिनमा कांग्रेसलाई थप सशक्त भएर अघि बढाउन लाग्ने समेत बताए ।
पार्टीमा प्रवेश गर्दै उनले भनेका छन्, ‘एउटा फुटबल खेलाडी कहिलेकाहीँ लोनमा अर्को क्लबमा खेल्न जान्छ, केही कुरा सिकेर आउँछ । म त्यसरी नै आफ्नो घरबाट केही समय बाहिर गएँ, राजनीतिक अभ्यास गरेँ । सिकेँ आएँ र म अब नेपाली कांग्रेसलाई अझ पहिलाभन्दा बढी योगदान दिएर अझ दरिलो रूपले अगाडि बढाउने प्रयास गर्दछु प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया