निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : रामप्रसाद भण्डारी

लोकपथ
28
Shares

 काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका क्रममा कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । 

दशौँ निर्वाचन दिवसका अवसरमा आज आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मत सर्वेक्षण निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता गतिविधि भए कारबाही गरिने स्पष्ट पारे ।

निर्वाचनको समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्ने जोखिम रहने भन्दै भण्डारीले सञ्चारमाध्यम, राजनीतिक दलका समर्थक तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरे । 

‘निर्वाचन आचारसंहिता पालना गरौँ, सामाजिक सञ्जालमार्फत कसैको मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भएर काम गरौँ, ‘उनले भने । सामाजिक सञ्जाल निर्वाचनमा पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा जिम्मेवार हुनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदातालाई कसैको दबाब वा प्रभावमा नपरी सही प्रतिनिधि छनोट गर्न आह्वान गरे । साथै, निर्वाचन सुरक्षासम्बन्धी नीति र रणनीति तय गर्न सुरक्षा निकायसँग समन्वय गरी बैठक भइरहेको जानकारी दिए । निर्वाचन आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गरे जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत कारबाही हुने भएकाले सबैलाई सचेत रहन उनले ध्यानाकर्षण गराए ।

कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला जिल्लामा मतदान अधिकृत तोक्ने र तालिम दिने काम तीव्र गतिमा भइरहेको जानकारी दिए । निर्वाचन शिक्षासम्बन्धी सामग्री आयोगको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पनि उनले बताए । उनका अनुसार हाल देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

निर्वाचनलाई थप पारदर्शी बनाउन यस पटक आयोगले खर्च व्यवस्थापन कार्यविधि पारित गरी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको सचिव राउतले जानकारी दिए ।

यस्तै, आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले २०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक निर्वाचन भएको स्मरणमा आयोगले २०७३ सालदेखि प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको बताए । पहिलो पटक नागरिकले मत हालेर सार्वभौम अधिकार प्रयोग गरेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?