काठमाडौं । बिहानै कलेज जाने किशोरी र युवतीलाई बाटो छेकेर यौन अंग देखाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बुधबार अपरान्ह एक युवकलाई पक्राउ गरेको हो ।
कार्यालयको टोलीले बाजुराका २५ वर्षीय गोपाल खड्कालाई बुधबार अपरान्ह पौने ४ बजे कुपन्डोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका युवकले कुलेश्वर क्षेत्रका कलेजहरुमा जाने किशोरीहरुलाई बिहान ६ बजेको आसपास नै पिछा गरी बाटो छेकेर यौन अंग देखाउने र हस्तमैथुन गर्ने गरेको पाइएको छ ।
सार्वजनिकस्थलमै यौन अंग देखाउने, अपमानजनक व्यवहार गर्ने गरेपछि प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा खड्काको संलग्नता पाइएपछि उनलाई पक्राउ गरिएको हो ।
कस्तो थियो हुलिया ?
अग्लो शरीर, चिटिक्क परेको अनुहार र जीउडाल अनि सभ्य पोसाक । हेर्दा कुनै कलेजमा पढाउने शिक्षकजस्ता देखिने खड्का बिहानै कलेजको वरिपरी पुग्छन् । कक्षा ११ र १२ वा ब्याचलर पढ्ने किशोरी र युवतीसँगै बाटोमा हिँडेको देखिने उनी कुनै कलेजमा पढाउन जाँदै गरेका शिक्षक जस्ता देखिन्छन् ।
तर वास्तविकता भने फरक छ । हेर्दा यिनी जति सभ्य देखिन्छन्, यिनको व्यवहार भने त्यति नै घिनलाग्दो छ ।
बिहानै कलेज पढ्ने विद्यार्थीसँगै हिँडेको देखिने यिनी कलेज पढाउन गएका होइनन् । बरु कलेज पढ्ने विद्यार्थीहरुलाई यौन दुव्र्यवहार गर्दै हिँडेका कारण यिनलाई प्रहरीले पक्राउ गरेको छ । कुलेश्वर क्षेत्रमा कलेज पढ्ने किशोरी र युवतीमाथि यौन दुव्र्यवहार र सार्वजनिक स्थलमा यौन अंग देखाएका कारण काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खड्कालाई बुधबार अपरान्ह पक्राउ गरेको हो ।

कुलेश्वर क्षेत्रका कलेजमा पढ्ने किशोरी र केही कलेजकै उजुरीको आधारमा आरोपितको खोजी गर्दा खड्काको संलग्नता भेटिएपछि सीसीटीभी फुटेजलगायत अन्य प्रमाणको आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
सीसीटीभी फुटेजमा के देखियो ?
करिब दुई साता अगाडि कुलेश्वरको एक कलेजले प्रहरी वृत्त कालिमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एउटा ठाडो उजुरी दियो । उजुरीमा एक युवकले बिहानै कलेज आउने युवती र किशोरीलाई पछ्याउने गरेको र किशोरी वा युवती एक्लै भएको मौका छोपी आफ्नो यौन अंग निकालेर हस्तमैथुनसमेत गरी युवती वा किशोरीको कलेज ड्रेस र शरीरमा फाल्ने गरेको उल्लेख थियो ।
एक किशोरीले कार्यालयमा दिएको उजुरीमा पनि आफूमाथि माघको २९ गते बिहान ६ः२० बजे कलेज जाने क्रममा एक युवकले बाटो छेकी आफूमाथि यौन दुव्र्यवहार गरी सार्वजनिकस्थलमै यौन अंग निकालेर अपमानजनक व्यवहार गरेर र वीर्य आफ्नो शरीरमा फालिदिएको उजुरी दिइन् ।
कलेज र पीडित किशोरीकै उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडकको खोजी सुरु गर्यो । किशोरीले भनेको मिति र समयको त्यस क्षेत्रको सीसीटीभी फुटेजको समेत अनुसन्धान भयो ।
सीसीटीभीको अनुसन्धान गर्दा युवकले ती एक किशोरी मात्रै होइन अन्य किशोरीहरुलाई पनि त्यस्तै अपमानजनक व्यवहार गरेको पाइयो ।
लोकपथलाई प्राप्त सीसीटीभी भिडियोमा यी युवक गत बिहीबार अर्थात् माघ २९ गते बिहान ६ बजेर ८ मिनेटको समयमा दुई जना युवतीको पछाडि मास्क लगाएर हिँडिरहेको देखिन्छ । सोही दिनको अर्को भिडियोमा एक युवती नजिकैबाट हिँडिरहेको देखिन्छ ।
तेस्रो भिडियोमा यी युवक अर्को एक किशोरीलाई पछ्याउँदै हिँडिरहेको र किशोरीको अनुहारतर्फ हेरेकोसमेत देख्न सकिन्छ ।
खैरो पाइन्ट, कालो हुडी र मास्क लगाएका यी युवक अर्को एक सीसीटीभी भिडियोमा पनि कलेज पोसाकमै रहेकी अर्की युवतीलाई पछ्याइरहेको देख्न सकिन्छ । यो बिहान ६ः२६ बजेको समयको सीसीटीभी भिडियो हो ।
पक्राउकै क्रममा लोकपथसँग कुराकानी गर्दा गोपालले आफूलाई केही दिनदेखि नकारात्मक फिलिङ आउन थालेको र कुनै किशोरी वा युवतीले आँखा जुधाए फिलिङ आउने गरेको बताए । उनले युवतीलाई पछ्याउँदासमेत सकेसम्म आँखा जुधाउने कोसिस गर्ने गरेको र आँखा जुधेपछि हस्तमैथुन गर्ने गरेको बताए । यद्यपि आफूलाई कुनै मानसिक समस्या नभएको उनले बताए ।
त्यसलगत्तै सोही दिनको अर्को ६ः२७ बजेको सीसीटीभी भिडियोमा यी युवक आफ्नो यौन अंग समाउँदै किशोरीभन्दा अगाडि पुगेर किशोरीको बाटो छेकी हस्तमैथुन गरी वीर्यलाई युवतीको शरीरतर्फ फालेको देखिन्छ ।
त्यसलगत्तै किशोरी डराएर भागेको सीसीटीभीमा देखिएको छ । प्रहरीमा आएको सूचना र निवेदनसँग घटना विवरणले मेल खाएपछि कार्यालयको टोलीले विगत केही दिनदेखि ती युवकको खोजी गरिरहेको थियो । र, अन्ततः बुधबार अपरान्ह ती युवकलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।
को हुन् आरोपित युवक ?
सार्वजनिक स्थानमा यौन अंग प्रदर्शन गर्ने, अपमानजनक व्यवहार र यौन दुव्र्यवहार गर्ने व्यक्ति हुन्, बाजुराका २५ वर्षीय गोपाल खड्का । बाजुराको बडिमालिका नगरपालिका–३ स्थायी ठेगाना भई काठमाडौं–१४ कलंकी सुनारगाउँ बस्ने खड्कालाई आफू बस्ने क्षेत्रमै अपमानजनक व्यवहार र यौन दुव्र्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
श्रीमती र बहिनीहरुसँगै बस्थे आरोपित
सार्वजनिक स्थलमा यौन अंग प्रदर्शन गर्ने र अपमानजनक व्यवहार गर्ने खड्का कलंकी क्षेत्रमै आफ्नी श्रीमती र दुईजना बिहिनीहरुसँगै बस्ने गरेका थिए । श्रीमती बिहान करिब पौने ६ बजे काममा जाने र बहिनीहरु पनि कलेज पढ्न गएपछि खड्का आफू पनि निस्किएर किशोरीलाई पछ्याउँदै यौन दुव्र्यवहार गर्न निस्कने गरेको पाइएको छ ।
पक्राउपछि लोकपथसँग कुरा गर्दै आरोपित खड्काले आफूलाई नकारात्मक फिलिङ आउन थालेकाले विगत १ महिनादेखि त्यस्तो गर्न थालेको बताए ।
श्रीमतीसँग लभ म्यारिज, मास्टर पढ्दै थिए युवक
बाजुराका खड्काले सिन्धुलीकी २२ वर्षीया युवतीसँग ४ वर्षअगाडि नै प्रेम विवाह गरेका थिए । गोपालकी श्रीमती सुनिता मोक्तान (परिवर्तित नाम) ले आफूहरुको वैवाहिक र पारिवारिक सम्बन्धमा कुनै समस्या नभएको बताएकी छिन् ।
तर श्रीमानले किन त्यस्तो अपमानजनक व्यवहार गरे भन्ने कुरा आफूलाई थाहा नै नभएको बताइन् ।
लोकपथसँग कुरा गर्दै सुनिताले आफू बिहान ६ बजेदेखि नै काममा जाने र बेलुका ६ बजे मात्रै कामबाट फर्कने गरेको बताइन् । आफू काममा जाँदा श्रीमान गोपाल सुतिरहेको हुने हुँदा आफूलाई त्यसबारे केही जानकारी नै नभएको बताइन् ।
सुनिताका अनुसार उनका पति गोपाल म्यानेजमेन्टमा मास्टर गर्दै छन् । आगामी केही दिनमा परीक्षा आइरहेकोसमेत उनले बताइन् । कुपण्डोलको एक स्थानमा काम गर्नेगोपाल बिहान १० बजे गएर साँझ ९ बजेतिर मात्रै घर फर्कने गरेका थिए । उनले के कति कारणले त्यस्तो व्यवहार गरे, थाहा नै नभएको सुनिताले बताइन् ।
कहिलेकाहीँ धेरै रिसाउने र आफैसँग कुरा गरेको जस्तो गर्थे गोपाल
सुनिताका अनुसार उनका पति गोपाल बेलाबेलामा अत्यधिक रिसाउने र आफूसँग कुरा गरेको जस्तो पनि गर्ने गर्दथे । सुनिता सामान्य लेखपढ मात्रै गर्ने व्यक्ति भएका कारण उनी कलंकी क्षेत्रमै सामान्य काम गर्थिन् । उनले फेसबुक चलाउँदा पनि गोपालकै फेसबुक चलाउने गरेकी थिइन् । फेसबुक वा सामाजिक सञ्जालमा कहिलेकाहीँ अन्य व्यक्तिहरुसँग आपत्तिजनक गाली गर्ने गरेपनि युवतीहरुसँग कुराकानी गर्ने गरेकोबारे थाहा नभएको उनले बताइन् ।
गाली नगर्नुस्, त्यस्तो नबोल्नुस् भन्दा आफूलाई समेत ब्लक गरिदिने र रिसाएर कहिलेकाहीँ घरबाटै हिँड्ने गरेको सुनिताले बताइन् । यद्यपि मानसिक समस्या देखिएको जस्तो व्यवहार नगरेको र कुनै औषधी सेवन नगरेको सुनिताको भनाइ छ ।
‘आँखा जुधाए फिलिङ्स आउँथ्यो’
पक्राउकै क्रममा लोकपथसँग कुराकानी गर्दा गोपालले आफूलाई केही दिनदेखि नकारात्मक फिलिङ आउन थालेको र कुनै किशोरी वा युवतीले आँखा जुधाए फिलिङ आउने गरेको बताए । उनले युवतीलाई पछ्याउँदासमेत सकेसम्म आँखा जुधाउने कोसिस गर्ने गरेको र आँखा जुधेपछि हस्तमैथुन गर्ने गरेको बताए । यद्यपि आफूलाई कुनै मानसिक समस्या नभएको उनले बताए ।
आफूलाई त्यसरी युवतीको पिछा गरेर हस्तमैथुन गर्दा सुरुमा आनन्द आउने भएपनि पछि भने पश्चाताप हुने गरेको उनले बताए ।
पहिले पनि गरेका थिए अपमानजनक व्यवहार
गोपालले दुई वर्षअगाडि पनि गौशाला क्षेत्रमा यस्तै अपमानजनक व्यवहार गरेको पाइएको छ । गौशाला क्षेत्रमा नाबालिकाहरुको अगाडि यौन अंग देखाएर अपमानजनक व्यवहार गरेपछि स्थानीयले गोपाललाई नियन्त्रणमा लिई कुटपिटसमेत गरी गौशाला प्रहरीमा बुझाइदिएका थिए ।
त्यतिबेला गोपालले आफूलाई पिसाब रोक्न समस्या हुने र पिसाब फेर्दा अरुले देखेको भन्दै माफी मागेर छुटेको पाइएको छ । त्यतिबेला प्रहरीमा कसैले पनि उजुरी वा जाहेरी नदिएको कारण उनी छुटेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले खड्काको सम्बन्धमा अनुसन्धान जारी रहेको र शुक्रबार अदालतबाट म्याद लिई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने बताए । उनले खड्कामाथि अपमानजनक व्यवहार या यौन दुव्र्यवहारसम्बन्धी कसुरमा अनुसन्धान हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया