भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो : केपी शर्मा ओली

लोकपथ
42
Shares

काठमाडौं । केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनालाई नेपालको संविधान, व्यवस्था र सार्वभौमसत्ताविरुद्धको योजनाबद्ध आक्रमण भएको बताएका छन् ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) को घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले देश हाल विवेक र आवेगको दोबाटोमा उभिएको उल्लेख गरे । 

भत्काउने र बनाउने दुई सोचबीच द्वन्द्व चलिरहेको भन्दै उनले राजनीतिक अस्थिरतालाई विकासको मुख्य बाधकका रूपमा चित्रण गरे ।

अध्यक्ष ओलीले भदौ २३ को प्रदर्शनमा घुसपैठ भएको र शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलिएको आरोप लगाए । उनका अनुसार संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकमार्फत प्रणालीमाथि नै प्रहार गर्ने उद्देश्यले ती घटनाहरू गराइएको हो ।

उनले ठुला दलहरूबिचको सहकार्य संकटको कारण नभई अस्थिरता रोक्ने प्रयास भएको स्पष्ट पार्दै, भदौ २३ र २४ का घटनाहरू स्वतःस्फूर्त नभई योजनाबद्ध भएको दाबी गरे । निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिक किन लक्ष्य बनाइए र सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले एमालेसँग मात्र विकास, सुशासन र निर्माणको स्पष्ट ट्र्याक रेकर्ड रहेको दाबी गर्दै, ध्वस्त भएका संरचनाको पुनः निर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब एमालेको काँधमा रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?