काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति समर्थन जनाउँदै ‘राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचिते हुने’ निष्कर्ष निकालेको छ ।
आज बिहीबार बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकले राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब भएको निष्कर्षसमेत निकालेको छ ।
‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो’ भन्ने राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब हो । आम जनताको चाहना नै त्यही हो,’ राप्रपाले भनेको छ ।
राप्रपाले मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गर्ने र नवीन समझदारी कायम गर्नेबारे पटक पटक आवाज उठाउँदै आएको स्मरणसमेत गरेको छ । राप्रपाले यथासम्भव निर्वाचनपूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग आग्रहसमेत गरेको छ ।
‘राजाको सन्देश तथा पार्टीको नीति अनुरूप उच्च मनोबलका साथ चुनावी अभियानमा समेत नवीन समझदारीको निम्ति दबाब दिन तथा आम जनतालाई जागरूक तुल्याउन राप्रपा आह्वान गर्दछ,’ पार्टीको विज्ञप्तिमा भनिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले उनको निर्देशनमा आज वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा पूर्वअध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र कमल थापा एवं काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको उपस्थित थिए ।
बैठकले राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा देशवासीको नाममा दिइएको सन्देशमा व्यक्त विचारको स्वागत र समर्थन गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया