काठमाडौं । बुधबार काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा वृद्धमाथि कुटपिट गर्ने पारस बममाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सवारी जाम भएका बेला बमले आफ्नो गाडीबाट ओर्लिएर एक वृद्धामाथि हातपात गरेका थिए । बमले हातपात गरेको विषय सामाजिक सञ्जालमा यत्रतत्र भएसँगै प्रहरीले सोही दिन नै उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर उनलाई पक्राउ गरिएको विषयमा एआई तस्बिर बनाएर पुनः प्रचार गरिएको भन्दै प्रहरीले अनुसन्धान भइरहेको विषयमा अफवाह नफैलाउन आग्रह गरेको छ ।
उक्त घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति नै जारी गरेर अफवाह नफैलाउन भनेको हो ।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले विज्ञप्ति नै जारी गरेर सामाजिक सञ्जालमा भ्रामक सूचना संप्रेषण नगर्न भनेको हो ।
‘विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट भ्रामक फोटो, भिडियो अन्य सूचना तथा एआई सिर्जित श्रव्यदृश्य सामग्रीहरु सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंको संज्ञानमा रहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘कानुन बमोजिम अनुसन्धान भएको विषय उपर सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो तथा सूचना सम्प्रेषण गरिने कार्य पुनः अनुसन्धानको विषय बन्नेतर्फ सजग रहँदै सामाजिक सञ्जालको प्रयोग गर्ने र सामाजिक जवाफदेहिता वहन गर्ने माननीय कर्तव्यको पालना गर्न सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया