अध्यक्ष ओलीले भने– ‘एमाले सधैँ गरिब र मजदुरको पक्षमा छ’

लोकपथ
49
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले देशमा भोकमरीको स्थिति लगभग अन्त्य भएको उल्लेख गर्दै अबको मुख्य लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताए । 

उनले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्वासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको पनि बताए । ओलीले भने, ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन,‘ र विभिन्न कार्यक्रममार्फत गरिबी उखेल्ने प्रतिवद्धता व्यक्त गरे ।

ओलीले आफ्नो कार्यकालमा सुरु गरिएका स्वास्थ्य बीमा जस्ता सामाजिक सुरक्षा कार्यक्रमहरूको महत्वमाथि प्रकाश पारे । उनले ३५ सय रुपैयाँमा १ लाखसम्म उपचार पाउने व्यवस्था जनताकै करबाट सम्भव भएको उल्लेख गर्दै सरकारको स्रोत संकलन र खर्च प्रणाली स्पष्ट पारे ।

दमकमा ५ हजारभन्दा बढी सिटी रिक्सा सञ्चालनमा रहेको जानकारी दिँदै अध्यक्ष ओलीले स्थानीय पूर्वाधार विकासमा एमाले नेतृत्वको सरकारले सफलता पाएको दाबी गरे । उनले आगामी निर्वाचनमा मजदुरका समस्याहरू समाधान गर्न थप ठोस कदम चालिने आश्वासन दिए ।

कार्यक्रम अन्त्य गर्दै अध्यक्ष ओलीले एमालेको चुनावी चिह्न ‘सूर्य’मा मतदान गरेर पार्टीलाई जिताउन सबैमा अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?