हवाई यात्रुको चाप बढेपछि भरतपुरमा इन्धन ‘रिफिलिङ काउन्टर’

लोकपथ
7
Shares

काठमाडौं। चितवनको भरतपुर विमानस्थलमा  इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि  इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो । 

लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताए । 

हाल यहाँबाट दैनिक आठवटा उडान हुँदै आएको बताउँदै उनले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए । 

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनले जानकारी दिए । 

यहाँबाट हाल दैनिक भरतपुर–काठमाडौं–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा– भरतपुर उडान हुँदै आएको छ । बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए । ‘अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौंबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ, ‘उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?