यी हुन् गगनको १० बुँदे ‘मधेश–देश’ प्रतिज्ञा

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको राजनीतिक र विकासको शैली बदल्ने ‘प्रतिज्ञा’ गरेका छन् ।

मधेशलाई ‘अन्नको भण्डार र ज्ञानको पाठशाला’ को रूपमा पुनःस्थापित गर्ने संकल्पसहित थापाले अब कांग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने, बरु प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाए ।

उनले मधेशसँगको सम्बन्धलाई राजनीतिक लाभ–हानीभन्दा माथि उठेर ‘बेटा र माटो’ को सम्बन्धका रूपमा व्याख्या गरे ।

‘मधेशको बेटा हुन् आएको हुँ’

थापाले मधेशी पहिचान र सम्मानको मुद्दालाई गम्भीरताका साथ उठाए ।

‘म यहाँ मधेशको नेता हुन् होइन, बेटा हुन् आएको हुँ,’ भन्दै उनले थपे, ‘मेरो नसामा मधेशी आमाको रगत नहोला, तर मेरो छातीमा दुर्गानन्द झाको शाहस र आँखामा महेन्द्र नारायण निधिको सपना छ ।’

उनले अब सिंहदरबार छिर्दा मधेशीले आफ्नो धोती–कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेशी छी’ भन्नसक्ने वातावरण कांग्रेसले निर्माण गर्ने उद्घोष गरे ।

राजा जनकको प्रतिज्ञा र कांग्रेसको नयाँ बाटो

राजा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान रामले धनुष उठाएर गरेको विजयलाई स्मरण गर्दै थापाले कांग्रेसको आगामी यात्रा ‘प्रतिज्ञा’ मा आधारित हुने बताए ।

‘यो शक्तिको विजय मात्र होइन, यो प्रतिज्ञाको विजय हो,’ थापाले भने, ‘आज म जे बोल्दैछु, यो प्रतिज्ञा हो । सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्नेछैन । हामीले २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर अध्ययन गरी यो प्रतिज्ञा तयार पारेका छौँ ।’

शिक्षा र स्वास्थ्यमा क्रान्तिः मधेसलाई पुनः ‘ज्ञानको केन्द्र’ बनाउने अठोट

थापाले मधेशको खस्कँदो शैक्षिक स्तरप्रति चिन्ता व्यक्त गर्दै गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना अघि सारे । स्वास्थ्य क्षेत्रमा उनले ‘एक रुपैयाँ तिर्नु नपर्ने’ स्वास्थ्य बीमा प्रणालीको ग्यारेन्टी गरे । कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिनको अन्त्य गर्ने उनको संकल्प छ ।

‘कुनै बेला पहाडका मान्छे गणित सिक्न मधेश आउँथे, आज यहाँकै विद्यालय कमजोर छन् ।’ उनले भने ।

किसान र वैदेशिक रोजगारीः पसिनाको मूल्य र भविष्यको ग्यारेन्टी

मधेशका उखु र आलु किसानको समस्यालाई नजिकबाट नियालेको बताउँदै थापाले यस दशकलाई ‘किसानको दशक’ बनाउने घोषणा गरे । वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि सरकारले दुतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्कंदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने योजना उनले सुनाए ।

‘४ खर्बको कृषि उपज आयात गर्ने देशलाई हामी आफ्नै उत्पादनले आत्मनिर्भर बनाउनेछौँ,’ उनले भने ।

निषेधको होइन, सबैलाई जोड्ने राजनीतिको वकालत

कांग्रेस एक्लैले देश बदल्न नसक्ने स्वीकार गर्दै थापाले ‘टिम नेपाल’ को अवधारणा ल्याए । थापाकाअनुसार यो टिमले अर्को पार्टीलाई होइन, बरु नेपालको कुशासन, गरिबी र बेरोजगारीलाई हराउनेछ । उनले ३२ जना उम्मेदवारहरूलाई घर–घर गएर ‘बदलिएको कांग्रेस’ को सन्देश प्रवाह गर्न निर्देशन समेत दिए ।

‘टिम नेपालमा कांग्रेसले नेतृत्व गर्छ, तर यसमा एमाले, माओवादी, रास्वपा र जसपा सबै अटाउँछन्,’ उनले स्पष्ट पारे ।

यी हुन् गगनले अघि सारेका १० बुँदे ‘मधेश–देश’ प्रतिज्ञा

  • प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने गौरवपूर्ण नेपाल
  • सपना देख्नसक्ने र आफ्नै जीवनकालमा साकार पार्नसक्ने नेपाल
  • सिंगो विश्वलाई उत्पादन निर्यात गर्न सक्ने स्वाभिमानी किसानको नेपाल
  • छोराछोरी पढाउन ऋण काढ्नु नपर्ने र उच्च शिक्षाको ग्यारेन्टी भएको नेपाल
  • बिरामी हुँदा उपचार खर्चको पिरलो नपर्ने (निःशुल्क बीमा) नेपाल
  • मौलिक संस्कृतिमा गौरव गर्दै आधुनिक प्रविधिमा लम्कने सूचना प्रविधिको नेपाल
  • विश्वले स्वाभिमानी र स्वतन्त्र देश भनेर सम्मान गर्ने नेपाल
  • आर्थिक समुन्नति र समृद्धिको महामार्गमा लम्कने नेपाल
  • प्रत्येक नागरिक प्रशासनिक हैरानी र झन्झटबाट मुक्त भएको नेपाल
  • कानून ठूलालाई चयन र सानालाई ऐन हुने विभेदकारी अध्यायको पूर्ण अन्त्य

उनले पार्टीका उम्मेदवारहरूलाई छाती ठोकेर, खुट्टा दरो टेकेर जनताको घर–घर जान र ‘बदलिएको कांग्रेस’ को सन्देश सुनाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?