काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि उत्तेजना नभई सुझबुझपूर्ण सहकार्य र बलियो संस्थागत संरचना आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजमको लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।
सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरू समेत अहिले ‘पपुलिजम’ (लोकप्रियतावाद) को सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले भने, ‘हेर्दाहेर्दै पपुलिजमको एउटा ठुलो लहर आएको छ । यसको आक्रमणबाट नेपालको लोकतन्त्रलाई हामीले जोगाउन सक्छौँ कि सक्दैनौँ भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’
उनले क्षणिक लोकप्रियताका लागि गरिने राजनीतिले लोकतन्त्रको मर्मलाई कमजोर बनाउन सक्ने भन्दै सचेत रहन आग्रह गरे ।
संस्थागत विकासको आवश्यकता
राज्यका संस्थाहरू बलियो नभए राष्ट्र असफल हुनेतर्फ इङ्गित गर्दै सभापति थापाले ‘ह्वाई नेसन्स फेल’ पुस्तकको सन्दर्भ उल्लेख गरे । उनले संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी पाएमा त्यसको भार मुलुकले थाम्न नसक्ने बताए ।
‘लोकतन्त्रलाई दिगो बनाउन र मुलुकलाई सही दिशामा लैजान बलिया संस्थाहरूको निर्माण अपरिहार्य छ,’ उनले भने ।
टिम नेपालको अवधारणा
मुलुकको समृद्धिका लागि एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले ‘टिम नेपाल’ को अवधारणा अघि सारे । उनकाअनुसार टिम नेपालभित्र ७ वटा प्रदेश, ७ सय ५३ वटा स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दलहरू, निजी क्षेत्र र आम नागरिक समेटिनुपर्छ । सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिन सक्ने उनको भनाइ थियो ।
पुरानो र नयाँको परिभाषा
नेपाली कांग्रेसको ऐतिहासिक विरासत र वर्तमान सान्दर्भिकताकाबारे बोल्दै सभापति थापाले कांग्रेस पुरानो पार्टी भएर पनि सधैँ नवीन रहने जिकिर गरे ।
उनले भने, ‘नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी भएकोमा गौरव गर्छ, तर यसले सडकमा आएका नौजवानहरूको आवाजलाई पनि उत्तिकै सुन्छ । त्यसैले यो सबैभन्दा पुरानो पार्टी पनि हो र समयको माग अनुसार चल्ने सबैभन्दा नयाँ पार्टी पनि यही हो ।’
सहकार्य र सुधारको बाटो
देशको मुहार फेर्न रिस र उत्तेजना काम नलाग्ने बताउँदै उनले राष्ट्रिय एकता र राजनीतिक सहकार्यमा जोड दिए ।
देश बनाउन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सबै शक्तिहरूको आवश्यकता औँल्याउँदै उनले भने, ‘सबैलाई मिलाएर लिएर जाने जिम्मेवारी र क्षमता नेपाली कांग्रेससँग छ ।’
मुलुकलाई दुर्घटनाबाट बचाउन र नागरिकलाई सेवा प्रवाह गर्न कांग्रेस नै अहिलेको सही विकल्प भएको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया