काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरी संकल्प र योजनासहित आफूहरू आएको बताएका हुन् ।
उनले नागरिक तहमा विशेष गरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए ।
त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उनको भनाई छ । उनकाअनुसार विगत १०–१२ वर्षमा जति विकास हुनुपर्थ्यो, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उनले प्रतिबद्धता जनाए ।
सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताए । देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाई छ ।
उनकाअनुसार राजनीतिक दलहरूसँग विमति हुन्छन्, प्रतिस्पर्धा हुन्छ तर देश बनाउन सबै दल चाहिन्छन् । उनले देशमा रहेका सबै राजनीतिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भूमिका नेपाली काँग्रेसले निर्वाह गर्ने दाबी गरे । आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उनको भनाई छ ।
उनले हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको उनले बताए । परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको लहरमा परेको उल्लेख गर्दै उनले नेपालजस्तो अझै संस्थागत रूपमा बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने बताए ।
उनका अनुसार विश्वका एकसेएक परिपक्व डेमोक्रेसीहरू पनि पपुलिज्मको सिकार भएका छन् । तर त्यहाँ संस्थाहरू बलिया भएकाले पपुलिज्म केही महिनामै ढल्ने गरेको उनले बताए । नेपालमा संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी बोकेर आएमा त्यसको परिणाम गम्भीर हुने उनले चेतावनी दिए ।
उनले भने, ‘यो निर्वाचन अगाडीको हाम्रो ठुलो प्रश्न भनेको चाहिँ के नेपाललाई हामी एक्सट्रिनिजमबाट जोगाउन सक्छौँ भन्ने हो । अहिले एकसेएक परिपक्व डेमोक्रेसीहरु पनि जसरी पपुलिजमको सिकार भएको छ, हेर्दाहेर्दै एउटा वेभजस्तो आएको छ, त्यो पपुलिजमको आक्रमणबाट के नेपालको डेमोक्रेसीलाई जोगाउन सक्छौँ ? हाम्रो डेमोक्रेसी त्यति परिपक्व पनि भइसकेका छैनौँ । हाम्रो ईकोनोमीको आफ्नै च्यालेन्सहरु छ । डेमोक्रेसी परिपक्क भइसकेको संस्थाहरू बनिसकेको ठाउँमा पपुलिजम के हुँदो रहेछ भने पपुलिजम ५/६ महिना आउँछ, त्यो ढल्छ । किनकि संस्थाहरू बलियो छ । हाम्रो सन्दर्भमा ती संस्थाहरू बलियो बनिसकेको नै छैन । हामीले बनाएनौँ, हामीले भत्कायौँ । संस्थाहरू बलियो नबनेको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामी थेग्न सक्छौँ भन्ने हाम्रो अगाडी एउटा प्रश्न छ । यसको हामीले ठिक ढंगले उत्तर खोज्नुपर्नेछ । नागरिकहरूको तहमा ठुलो छटपटाहट छ, खासगरि नौजवानहरुको बिचमा छ, देश जसरी चलिरहेको थियो, अहिले पनि चलिरहेको छ । यस विषयमा उनीहरूको ठुलो कम्प्लेन छ, त्यो जायज छ । उनीहरूको मागलाई सम्बोधन गर्ने नै हो । अहिलेको मुद्दा यही नै हो । नेपाललाई अहिले सुधार चाहिएको हो । सुधारको ग्यारेन्टी लिएर हामीहरू उभिएका छौँ । संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने ? नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०/१२ वर्ष जसरी विकास हुनुन्थ्यो, त्यो हुन सकेन । हामीले मान्यौँ, मान्नुपर्छ यसलाई, त्यसको पार्ट हामी पनि हो तर यो पाँच वर्ष हामी खेर फाल्दैनौ । यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी समालिनुपनि पर्छ । देश उत्तेजनाले मात्रै बदलिन्न । देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न । म असल, बाँकी रहेका सबै खराब भनेर देश बन्दैन । बन्नै सक्दैन । हाम्रा विमति छन्, राजनीतिक दलहरूसँग, हामी फरक फरक राजनीतिक दल हौँ, हामी प्रतिस्पर्धा गर्छौँ । तर हामी सबैको आफ्नो स्पेस छ । यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ, सबै चाहिन्छ । सबैलाई मिलाएर लिएर जानुपर्छ । त्यो मिलाएर लैजाने राजनीति आजको दिनमा नेपाली कांग्रेसले गर्छ ।’
उनले बौद्धिक व्यक्तित्व तथा पेसाकर्मीहरूलाई पपुलिजमको विरुद्धमा बोल्न पनि आग्रह गरे । उनले हाल पपुलिजम शक्तिहरूको विरुद्धमा अहिले बोल्न समेत डराउनुपर्ने अवस्था रहेको उल्लेख गरे । तर प्रश्न गर्न पछि नहट्न उनले आग्रह गरे । सत्तामा नपुग्दा नै प्रश्न गर्न नपाइने शक्तिहरु सत्तामा पुगे प्रश्न गर्ने अधिकार सुरक्षित नहुने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया