झण्डै ६ महिनापछि योगेशले भने– ‘जेनजी आन्दोलनको भागिदार कांग्रेस पनि हो’

लोकपथ
168
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले जेनजी आन्दोलनको भागिदार नेकपा एमाले मात्र नभएको दाबी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै तत्कालीन सरकारको नेतृत्व एमालेले गरेको भए पनि साथैमा कांग्रेस समेत सरकारमा रहेका कारण कांग्रेस समेत उत्तिकै भागिदार हुनुपर्नेमा जोड दिए ।

जेनजी आन्दोलनको झण्डै ६ महिनापछि पूर्वमन्त्री समेत रहेका भट्टराईले जेनजी आन्दोलनमा सरकारका तर्फबाट भएका कमीकमजोरीमा आफूहरु आत्मालोचना गर्न तयार रहेको बताए ।

‘त्यतिबेला सरकारको नेतृत्व गरेको दल नेकपा एमाले हुनुको नाताले सडकमा उत्रिएको जेनजी नवयुवा पुस्ता र एमालेबिच अन्तरविरोध सिर्जना हुने कुरा पनि मैले त्यसलाई अस्वभाविक रुपमा लिन्न । स्वभाविक नै हो, किनकी हामी दुई वटा पक्ष जस्तो भयौँ । यद्यपि त्यो सरकार एमालेको मात्रै थिएन । त्यहाँ गृहमन्त्रालय नेपाली कांग्रेसको थियो । त्यसका कमीकमजोरीको भागिदार पनि एमाले एक्लैले लिनुपर्छ जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेस पनि त्यसमा भागिदार छ । त्यसको हामी समीक्षा गर्दै जाउँला,’ उनले भने ।

त्यस्तै उनले भदौ २३ गतेको घटना राज्यको कमजोरी रहेको र भदौ २४ गते राज्यविरुद्ध संगठित अपराध हुने काम भएको उनको तर्क छ ।

‘२३ गते राज्यको कमजोरी थियो भने २४ गते राज्यविरुद्धको संगठित अपराध पनि थियो । षडयन्त्रहरु पनि थिए ।

त्यसकारण भदौ २३ र २४ गतेलाई अलग ढंगले विश्लेषण गर्नुपर्छ भनेर मैले भन्दै आएको छु,’ उनले भने ।

साथै उनले निर्वाचनमा नवयुवा र नेकपा एमालेबिच मनमुटाव गरेर जान नहुने बताए । एकअर्काबिच आक्रोश पोखेर मात्रै अघि बढ्न नहुने भन्दै एकआपसमा छलफल गरेर अघि जानुपर्नेमा जोड दिए ।

सरकार र जेनजी प्रतिनिधिहरुबिच गत मंसिर २५ गते भएको १० बुँदे सहमतिको केही प्रक्रियागत त्रुटी रहेको भए पनि कन्टेन्टका विषयमा आफूहरु सहमत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?