काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध भएको अन्याय र अत्याचारको हिसाब लिने बताएका छन् ।
चितवन–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू माथि लगाइएका मुद्दा र व्यवहारप्रति कडा टिप्पणी गरेका हुन् ।
उनले भने, ‘म माथि जिल्लैपिच्छे मुद्दा हालिएको छ । ममाथि भएका अन्याय र अत्याचारका हिसाब छन् । त्यसको न्यायिक र कानुनी लडाइँ म लड्छु । तर ३४ वर्षदेखि यिनिहरूले हाम्रो सपनामा डोजर चलाएका छन्, त्यसको हिसाब अब गर्नुपर्ने छ । त्यो हिसाब हामी लिन्छौँ ।’
लामिछानेले आगामी निर्वाचनलाई सामान्य मतदान मात्र नभई परिवर्तनको अवसरका रूपमा व्याख्या गरे । ‘अब क्रान्ति हुन्छ । २१ गते कुनै सामान्य मतदान मात्र हुनेवाला छैन । यो देशले वर्षौँदेखि देखेको सपनाको कुरा हामी गरिरहेका छौँ । यस पटक त्यो सपना पूरा गर्नै पर्छ, ‘उनले भने ।
उनले राजनीतिको आडमा राज्यका संरचनालाई भर्ती केन्द्रजस्तै प्रयोग गरिएको, बजेटको असमान वितरण गरिएको र ‘मैले यति ल्याएँ, उति ल्याएँ’ भन्दै देशका विभिन्न भू-भागबीच विभेद गरिएको आरोप लगाए ।
आफू प्रतिशोधको राजनीतिमा नलाग्ने स्पष्ट पार्दै लामिछानेले मध्यरातमा पक्राउ गरिएको घटनासहितका विषयहरू कानुनी बाटोबाटै लड्ने बताए । ‘म प्रतिशोध लिँदिनँ । मध्यरातमा उठाएर लगेका हिसाबहरू म कानुनी रूपमा आफैँ लड्छु, ‘उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया