भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार निर्वाचन आयोगबाट प्राप्त जिम्मेवारीअनुसार मतपत्र छपाइ सोमबार साँझ सम्पन्न गरिएको हो ।
छपाइ सकिएसँगै आजदेखि मतपत्रको प्याकेजिङ पूरा गरी सम्बन्धित प्रदेश तथा जिल्लामा ढुवानी सुरु गरिएको उनले जानकारी दिए ।
पौडेलका अनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ सम्पन्न भएको छ । ४२ दिनको कार्यतालिकासहित सुरु गरिएको छपाइ कार्य ४० दिनमै सकिएको उनले बताए । ‘अब १० दिनभित्र देशभरका सबै जिल्लामा मतपत्र पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ,उनले भने ।
केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको जनाएको छ । यसअघि १० लाख नमुना मतपत्र छपाइ गरी निर्वाचन आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ । यस्तै, समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने प्रक्रिया पनि जारी रहेको केन्द्रले जनाएको छ ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेका छन् । बाँकी प्रदेश तथा जिल्लामा पनि आगामी १० दिनभित्र मतपत्र पुर्याउने गरी ढुवानी कार्य तीव्र रूपमा अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया