सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा दुर्गा प्रसाईँविरुद्ध मुद्दा चलाइने

लोकपथ
49
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा चलाइने भएको छ ।

प्रहरीका अनुसार उक्त कसुरमा बढीमा २५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ ।

प्रसाईँलाई हिरासतमा राख्न कार्यालय समय सुरु हुनासाथ म्याद थपका लागि जिल्ला अदालतमा पेस गरिने जनाइएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईँलाई सोमबार राति भक्तपुरस्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रसाईँ माघ २३ गते पक्राउ परेका थिए । निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर नेपाल प्रहरी साइबर ब्युरो ले बयान लिएपछि सोही दिन उनलाई हाजिर जमानीमा रिहा गरिएको थियो ।

प्रहरीका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन विथोल्ने उद्देश्यसहित अभियान सुरु गर्न लागेको आशंकाका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो । यही आशंकाका कारण पछिल्ला दिनहरूमा प्रसाईँलाई पटक–पटक नियन्त्रणमा लिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?