काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार नै एमाले प्रवेश गरेका छन् । जसपा नेपालका उम्मेदवार रहेका श्रीनिवास यादव उम्मेदवारी फिर्ता लिँदै एमाले प्रवेश गरेका हुन् ।
उनले आफूले जसपा नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै एमालेमा समाहित भएको घोषणा गरेका छन् ।
सोमबार एक प्रेस विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘देश, जनता र राष्ट्रप्रति बफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु ।’

यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न आह्वान गरेका छन् । साथै उनले एमाले रुपन्देही–३ का उम्मेदवार वासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिलसमेत गरेका छन् ।
प्रचलित कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको, तर वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास उनले व्यक्त गरेका छन् ।
यादव यसअघि २०७४ सालको निर्वाचनमा क्षेत्र नं. ४ बाटै नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा पराजित भएका थिए । यसपटक भने नेपाली कांग्रेसले टिकट नदिएपछि उनी जसपा नेपाल प्रवेश गरेर उम्मेदवार बनेका थिए । तर निर्वाचन नजिकिँदै जाँदा उनी उम्मेदवारी नै रद्द गरेर एमाले प्रवेश गरेका हुन् ।
यादवलाई रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार वासुदेव घिमिरे, क्षेत्र नं. ४ का उम्मेदवार प्रमोदकुमार यादव, एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकाल, गुमादेवी आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरेलगायतले एमालेमा स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया