क्रिकेटको विकासका लागि रूप्से स्पोर्टसले प्रशिक्षण केन्द्र बनाउने

लोकपथ
0
Shares

काठमाडौं । रूप्से स्पोर्टस् म्यानेज्मेन्टले क्रिकेटको विकासका लागि अत्याधुनिक क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र बनाउने भएको छ ।

रूप्सेले नवलपुरको गैंडाकोटमा आफ्नै स्वामित्वमा रहेको ५ बिगाहा क्षेत्रफलमा अत्याधुनिक पूर्वाधारसहितको क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको हो ।

रूप्सेका अध्यक्ष रमेश पराजुलीले विज्ञप्ति जारी गर्दै क्यानसँगको सहकार्यमा राष्ट्रिय गौरवको परियोजना अघि बढाउने तयारी गरेको बताए ।

‘रूप्से स्पोर्टस् म्यानेज्मेन्ट क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)सँगको सहकार्यमा यो राष्ट्रिय गौरवको परियोजना अगाडि बढाउन इच्छुक रहेको छ । यसका लागि हामी चाँडै नै क्यानसँग औपचारिक वार्ता र छलफल अगाडि बढाउने प्रतिबद्धता जनाउँदछौँ । सहकार्यले नेपाली क्रिकेटको विकासमा कोसेढुंगा साबित हुने हामीले विश्वास लिएका छौँ,’ पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कमजोर पूर्वाधारका कारण नेपाली खेलाडीहरुले विश्वका अन्य देशहरुसँग नेपाली खेलाडीहरुले सोचेअनुसारको प्रस्तुती दिन नसकिरहेको अवस्थामा रूप्सेले पहल थालेको हो । त्यसो त हालैको आईसीसी विश्वकप–२०२६ मा नेपाली खेलाडीहरुले केही खेलमा बाहेक राम्रो प्रस्तुती दिन नसकेका कारण समूह चरणमै सीमित हुन पुगेको अवस्था छ । यस्तो अवस्थामा खेलाडीहरुमा कमजोरी भन्दा पनि राज्यले खेलकुद अझ किक्रेटको विकासमा जोड दिन नसकेको भन्दै आलोचना समेत भइरहेको छ ।

यसै सन्दर्भमा रूप्सेले नेपाली खेलाडीहरुलाई प्रशिक्षित गरी विश्वमा क्रिकेटको माध्यमबाट नेपालको नाम चम्काउने पहलका रुपमा यो कार्य अघि बढाउन चाहेको बताइएको छ ।

‘आफ्नो प्रस्तावित क्रिकेट एकेडेमी तथा प्रशिक्षण केन्द्रमा नेपाली खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गरी उनीहरूको क्षमता विकास गर्ने हाम्रो उद्देश्य रहेको छ । नेपाली क्रिकेटको गुणस्तर सुधार गर्न र यसलाई थप प्रतिस्पर्धी बनाउन नवलपुरको गैंडाकोटमा ५ बिघाहा क्षेत्रफलमा एक सुविधासम्पन्न क्रिकेट एकेडेमी र इनडोर तथा आउटडोर स्पोर्टस् हल निर्माण गर्न इच्छुक रहेको जानकारी गराउँदछौँ । सोही जग्गामा अत्याधुनिक पूर्वाधारसहितको क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गरी नेपाली क्रिकेटको स्तरोन्नति गर्ने हामीले लक्ष्य राखेका छौँ । यस एकेडेमीले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण, आधुनिक प्रविधिको प्रयोग र अभ्यासका लागि उत्कृष्ट वातावरण प्रदान गर्न सक्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । त्यसका लागि क्यानसँगको सहकार्यमा अगाडि बढ्ने योजना रहेको छ,’ पराजुलीले भनेका छन् ।

यो विज्ञप्ति पढ्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?