काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागिता जनाएका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए भने नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण पनि गरे । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीक मानिन्छ र नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गरे । साथै ‘फ्रि फल जम्प’ प्रतियोगितामा प्रथम भएका प्रमुख सेनानी विवेक बिक्रम शाह र दोस्रो भएका रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गरे । विदेशी सेनाका टोली प्रमुखलाई पनि सम्झनास्वरुप उपहार प्रदान गरिएको थियो ।
सेनाको हेलिकप्टर र ड्रोनमार्फत पुष्पवृष्टि गरियो भने राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गर्यो। साथै विभिन्न रणकौशल, परम्परागत वेशभूषा, कला, नृत्य, सङ्गीत र मार्चपास प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, पूर्व मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, कूटनीतिक प्रतिनिधि तथा समाजका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए ।
टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थितिले समारोहको भव्यतालाई थप वृद्धि गरेको थियो। उक्त कार्यक्रम नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया