काठमाडौं । युरोपका पाँच देशहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विष प्रयोग गरी मारेको भनी आरोप लगाएका छन् । उनको मृत्यु भएको दुई वर्ष बितिसकेको अवस्थामा बेलायत, फ्रान्स, जर्मनी, स्विडेन र नेदरल्याण्ड्सका विदेश मन्त्रीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएका हुन् ।
रुसका प्रमुख विपक्षी नेतासमेत रहेका नाभाल्नीको मृत्यु विष प्रयोगबाट भएको र त्यसो गर्न सक्ने शक्ति रुसी सरकारसँग मात्रै रहेको भनेका हुन् ।
‘रुसमै कैदमा रहेका बेला नाभाल्नीविरुद्ध यस्तो घातक विष प्रयोग गर्ने साधन, उद्देश्य र अवसर केवल रुसी सरकारसँग मात्रै थियो,’ संयुक्त वक्तव्यमा भनिएको छ ।
युरोपेली देशहरूले अमेरिकामा पाइने विषालु भ्यागुतोबाट निकालिने एपिबाटिडिन नामको रसायन प्रयोग गरी उनलाई मारिएको हुन सक्ने आरोप लगाएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ । उनीहरूले नाभाल्नीको शरीरबाट लिइएको नमुनामा उक्त विषालु पदार्थ भेटिएको दाबीसमेत गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ‘एपिबाटिडिन’ दक्षिण अमेरिकामा पाइने पोइजन डार्ट फ्रगमा भेटिने विष हो र यो रुसमा प्राकृतिक रूपमा पाइँदैन ।’
नाभाल्नीलाई सन् २०२० मा पनि विष प्रयोग गरी हत्याको प्रयास गरिएको थियो । त्यतिबेला उनको अन्डरवेयरमा विष राखिदिएपछि नाभाल्नी बिरामी परेका थिए । त्यतिबेला कोमामा पुगेका उनलाई उपचारका लागि जर्मनी लगिएको थियो । निको भएपछि स्वदेश फर्कने क्रममा सन् २०२१ मा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । जेलमै रहँदा सन् २०२४ मा उनको मृत्यु भएको थियो । नाभाल्नी सन् २०२१ मा पक्राउ परेपछि लामो जेल सजाय भोगिरहेका थिए । कडा कारागार जीवनका बीच पनि उनले सामाजिक सञ्जालमार्फत सक्रियता कायम राखेका थिए भने उनका सहयोगीहरूले विदेशबाट रुसी अभिजात वर्गको भ्रष्टाचारसम्बन्धी अनुसन्धान सार्वजनिक गर्दै आएका थिए ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखरोवाले भने पश्चिमी देशहरूले अन्य समस्याबाट ध्यान मोड्नका लागि त्यस्तो आरोप लगाएको बताएकी छन् । उनले विस्तृत परीक्षण प्रतिवेदन नहेरेसम्म विस्तृत टिप्पणी नगर्ने बताएकी छन् ।
युरोपेली संघकी अध्यक्ष उर्सुला भोन देर लियनले पनि नाभाल्नीको मृत्युलाई कायरतापूर्वक कदम भनेकी छन् । उनले राष्ट्रपति पुटिनको शासनमा राजनीतिक विरोधीलाई विष प्रयोग गरी हटाउने प्रवृत्ति देखिएको आरोप लगाएकी छन् ।
नाभाल्नीकी पत्नी युलियाले म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै युरोपेली देशहरूको निष्कर्षले आफ्नो दाबीलाई पुष्टि गरेको बताएकी छन् । ‘भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गरेर मेरा पति अलेक्सेई नाभाल्नीको हत्या गरेका हुन्,’ उनले भनिन् ।
क्रेमलिनले त्यतिबेला नाभाल्नीलाई अमेरिकी गुप्तचर संस्था सीआईएको एजेन्ट भनेर आरोप लगाएको थियो । त्यस घटनापछि सम्बन्धित रुसी अनुसन्धान संस्थामाथि युरोपेली संघले प्रतिबन्ध लगाएको थियो ।
नाभाल्नीको मृत्युबारे रुसी अनुसन्धान समितिले आपराधिक अनुसन्धान गर्न अस्वीकार गरेको छ । समितिले उच्च रक्तचाप, दीर्घकालीन हेपाटाइटिस र मुटुसम्बन्धी समस्यालाई मृत्युको कारण बताएको थियो । तर नाभाल्नीका पूर्वचिकित्सकले उक्त निष्कर्षलाई अस्वीकार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया