चर्चित अनुहारहरूको मैदान अर्थात् काठमाडौं -५

२०७९ मा समानुपातिकमा पहिलो बनेको रास्वपा अब के होला ?

लोकपथ
70
Shares

सुदिपा अधिकारी/काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । उम्मेदवारहरू मतदाता फकाउन मैदानमा उत्रिएका छन् भने यसपटकको निर्वाचनमा कुन उम्मेदवारलाई आफ्नो प्रतिनिधिको रूपमा संसद् पठाउने भनेर मतदाताहरू छलफलमा व्यस्त छन् ।

यसैबिच, देशको अधिकांश क्षेत्रमा नयाँ अनुहारको खोजी भइरहँदा काठमाडौं क्षेत्र नम्बर ५ मा भने पुरानै नेताहरूको रजगज देखिन्छ । यहाँका मतदाताहरू अहिले पनि पुरानै दल नेपाली कांग्रेस र नेकपा एमालेप्रति नै बढी विश्वास देखाइरहेका छन् ।
तर काठमाडौं ५ मा नयाँ शक्तिहरूको लोकप्रियता पनि कम छैन । नयाँ दलबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको चर्चा पनि राम्रै छ । पुराना दल र नयाँ दलको भिडन्तमा के यहाँ नयाँ दलले सत्ता पल्टाउला कि पुरानैको निरन्तरता होला, त्यो हेर्नलाई भने निर्वाचनको मत परिणाम नै कुर्नुपर्ने हुन्छ ।

काठमाडौं ५ मा को को छन्, प्रतिस्पर्धामा ?
काठमाडौं क्षेत्र नम्बर ५ मा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका थिए । यसपटक पनि कांग्रेसबाट प्रदीप पौडेल नै प्रतिस्पर्धामा रहेका छन् । यस क्षेत्रमा एमालेबाट ईश्वर पोखरेल, रास्वपाबाट सस्मित पोखरेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट कल्पना शर्मा, गतिशील लोकतान्त्रिक पार्टी (गलोपा)बाट अभिनेत्री निशा अधिकारीसहित अन्य उम्मेदवारहरू रहेका छन् । काठमाडौं ५ मा यसपटक ५ जना स्वतन्त्रसहित कुल २५ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा निर्वाचन, २०८२

🗳️ काठमाडौं क्षेत्र नम्बर ५

कुल मतदाता ७८,११४

लिङ्ग आधारमा विभाजन

महिला ४०,८३२
पुरुष ३७,२७८
अन्य
मतदान स्थल ३१
मतदान केन्द्र ९०
⚡ कुल मतदाता ७८,११४ = महिला ४०,८३२ + पुरुष ३७,२७८ + अन्य ४ | मतदान स्थल ३१, केन्द्र ९०

काठमाडौंमा कुल ७ लाख १० हजार ७ सय ८ मतदाता रहेकामा क्षेत्र नम्बर ५ मा मात्रै ४० हजार ८ सय ३२ महिला, ३७ हजार २ सय ७८ पुरुष र अन्य ४ गरी कुल ७८ हजार ११४ मतदाता रहेका छन् । यस क्षेत्रमा ३१ मतदान स्थल रहेको छ भने मतदान केन्द्रको सङ्ख्या ९० रहेको छ ।

यी हुन्, काठमाडौं ५ मा पर्ने क्षेत्रहरू
काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाको ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको २, ३, ४, ५, ६, ७ वडा नम्बर रहेका छन् ।

दलहरूका दौडधुप सुरु

निर्वाचनको सरगर्मी बढेसँगै काठमाडौं क्षेत्र नम्बर ५ मा राजनीतिक दलहरू अघोषित घरदैलोमै गइसकेका छन् । यस क्षेत्रबाट २०७९ सालमा प्रदीप पौडेलले जित हासिल गरी सांसद मात्र बनेनन् स्वास्थ्य मन्त्रीसमेत बनेका थिए । पौडेलले ‘युवाहरूलाई नेपालमै टिकाउन स्टार्टअप कानुन, शिक्षा ऐन, बैंकिङ कानुन र परराष्ट्र नीति सबैले एकै लयमा काम गर्नुपर्ने’ र ‘हाम्रो अर्थतन्त्रको अबको बाटो’ भन्ने चुनावी एजेन्डा बनाएका छन् ।

पौडेललाई पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ ले दिएको थियो । यसपटक पनि यस क्षेत्रमा जित्नेमा पौडेल विश्वस्त देखिन्छन् ।

२०७९ को हिसाबकिताब

पौडेलले २०७९ को निर्वाचनमा नेकपा एमालेका ईश्वर पोखरेललाई पराजित गरेका थिए । काठमाडौं ५ मा कुल ७५ हजार २ सय ७७ मतदातामध्ये ४५ हजार ९ सय ८७ मत खसेको थियो । जसमा पौडेलले १५ हजार २६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १ सय ९० मत पाएका थिए । ५ हजार ७९ मतको अन्तरले गत निर्वाचनमा पौडेल एमालेभन्दा अगाडि रही विजयी भएका थिए ।

२०७९ सालमा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीले गठबन्धन गरेका थिए । यस क्षेत्रमा माओवादीको उम्मेदवार नहुँदा माओवादीले पनि नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई नै मत हालेका थिए । जसको प्रतिफल स्वरूप पौडेल विजयी भए ।

प्रतिनिधिसभा निर्वाचन २०७९ – काठमाडौं क्षेत्र नं ५

🗳️ प्रतिनिधिसभा निर्वाचन २०७९

काठमाडौं क्षेत्र नं ५ – प्रत्यक्ष निर्वाचन

कुल मतदाता
७५,२७७
सदर मत
४५,९८७ (६१.१%)
प्रदीप पौडेल (कांग्रेस) लाई माओवादी केन्द्रको समर्थन प्राप्त
प्रदीप पौडेल (कांग्रेस) १५,२६९ (माओवादी समर्थन)
ईश्वर पोखरेल (एमाले) १०,१९०
प्रणय शमशेर राणा (रास्वपा) ५,४७७
रामप्रसाद उप्रेती (राप्रपा) ३,१६२
श्रीराम गुरुङ (स्वतन्त्र) २,७६१

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शमशेर राणा ५ हजार ४ सय ७७ मत प्राप्त गरी तेस्रो स्थानमा थिए । चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामप्रसाद उप्रेतीले ३ हजार १ सय ६२ र स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले २ हजार ७ सय ६१ मत प्राप्त गरेका थिए । स्वतन्त्रबाट पराजित भएका उनी यसपटक पुनः उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा होमिएका छन् ।

पञ्चायत कालदेखि गणतन्त्रसम्म चुनाव लड्दै आएका राप्रपाका कमल थापा पनि यसपटक मकवानपुर छाडेर काठमाडौं ५ बाट प्रतिस्पर्धामा आएका छन् । कमल थापा एकपटक पुनः जुरमुराउने प्रयासमा छन् ।

तर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार कल्पना शर्मा र रास्वपाका उम्मेदवार सस्मित पोखरेलले उनीहरूलाई कडा चुनौती दिन सक्छन् ।

२०७४ सालमा ईश्वर पोखरेलका लागि र २०७९ मा प्रदीप पौडेलका लागि मत मागेकी अधिवक्ता कल्पना शर्मा यो पटक आफ्नै लागि मत माग्दै छिन् । माओवादीको पृष्ठभूमि, एकतापछि एमालेमा रहेको अनुभव, अनि पोखरेल र पौडेल दुबैलाई जित्न सघाएको अनुभवले शर्मालाई कति सहयोग पुग्ला त्यसको लागि पनि मत परिणाम कुर्नै पर्छ ।

२०७४ को निर्वाचनलाई फर्केर हेर्दा

२०७४ सालको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन हुँदा एमालेका उम्मेदवार ईश्वर पोखरेलले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई हराएका थिए । २०७४ सालमा पोखरेलले २३ हजार २९ मत पाएका थिए भने कांग्रेसबाट महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका थिए । २०६४ र २०७० को निर्वाचनमा पोखरेल पराजित भएका थिए ।

एमालेले स्थानीय तहको मतलाई आधार मानेर आफू बलियो भएको तर्क गर्दा कांग्रेस पनि विगतका जितका आधारमा आफ्नै जित हुने दाबी गरिरहेको छ । जेन-जी विद्रोहपश्चात् फेरिएको राजनीतिका कारण रास्वपा र उज्यालो नेपाल पार्टीलेसमेत जितको दाबी गरिरहेका छन् । यसबाहेक चुनाव लड्नकै लागि राजेन्द्र लिङ्देनसँग एकता गरेका पुराना नेता कमल थापा मैदानमा छन् ।

नयाँ शक्तिको रूपमा उदाएको रास्वपाका नेता सस्मित पोखरेलको पनि यो क्षेत्रमा उतिकै चर्चा छ । पोखरेलले यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बोलेन्द्र शाह (बालेन)को सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा समेत काम गरेका छन् । उनी विशेष गरी युवा पुस्तामा छाएका छन् ।

त्यसै गरी कलाकारिताबाट राजनीतिको बाटो हिँडेकी निशा अधिकारी नयाँ दलको रूपमा मैदानमा छिन् । बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत जोडिएको ‘गतिशील लोकतान्त्रिक पार्टी’मा उनले केन्द्रीय सदस्यको रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् । तर उनको काठमाडौं ५ मा भने खासै चर्चा छैन । अभिनेत्रीका रूपमा चर्चित भए पनि काठमाडौं ५ मा भने उनको चर्चा त्यति छैन ।

२०७९ मा समानुपातिकमा रास्वपा पहिलो पार्टी
प्रतिनिधिसभा निर्वाचन २०७९ मा काठमाडौं क्षेत्र ५ मा समानुपातिकतर्फ ११ हजार ६ सय ४७ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा रहेको थियो । नेपाली कांग्रेसले १० हजार ४३ मतसहित दोस्रो स्थान पाएको थियो । तेस्रोमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समानुपातिकतर्फ ९ हजार ६ सय ५२ मत प्राप्त गरेको थियो । चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ७ हजार २ सय १ र नेपाल मजदुर किसान पार्टीले १ हजार ६ सय १९ मत प्राप्त गरेको थियो ।

समानुपातिक निर्वाचन २०७९ – काठमाडौं क्षेत्र नं ५

🗳️ समानुपातिक निर्वाचन २०७९

काठमाडौं क्षेत्र नं ५ – बन्दसूची तथ्यांक

कुल सदर मत
४०,१६२
दलहरू
रास्वपा ११,६४७
नेपाली कांग्रेस १०,०४३
नेकपा एमाले ९,६५२
राप्रपा ७,२०१
नेमकिपा १,६१९

फागुन २१ को निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । उम्मेदवारहरू मतदाता फकाउन मैदानमा उत्रिएका छन् भने यसपटकको निर्वाचनमा कुन उम्मेदवारलाई आफ्नो प्रतिनिधिको रूपमा संसद् पठाउने भनेर मतदाताहरू छलफलमा व्यस्त छन् ।

यसैबिच, देशको अधिकांश क्षेत्रमा नयाँ अनुहारको खोजी भइरहँदा काठमाडौं क्षेत्र नम्बर ५ मा पुरानै नेताहरूको रजगज देखिन्छ । यहाँका मतदाताहरू अहिले पनि पुरानै दल नेपाली कांग्रेस र नेकपा एमाले प्रति नै विश्वास देखाइरहेका छन् ।
तर नयाँ शक्तिहरूको लोकप्रियता पनि कम छैन । नयाँ दलबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको चर्चा पनि राम्रै छ । पुराना दल र नयाँ दलको भिडन्तमा के यहाँ नयाँ दलले सत्ता पल्टाउला त्यो हेर्नलाई निर्वाचनको मत परिणाम कुर्न पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?