मुख्यमन्त्री कार्कीको गुनासो : ‘प्रदेशमा प्रगति भए पनि नकारात्मक प्रचार बढ्दैछ’

लोकपथ
35
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार पारदर्शिता, जवाफदेहिता, जनमुखी सेवा र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् ।

कोशी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेखनीय काम भइरहे पनि त्यसलाई बेवास्ता गर्दै नकारात्मक प्रचार मात्र हुने गरेको गुनासो गरे ।

प्रदेश संरचनामाथि निरन्तर आलोचना भइरहे पनि सरकार सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले आवश्यक कानुन निर्माण तथा कार्यान्वयनका लागि संघीय सरकारसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइएको बताए ।

मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमार्फत करिब दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ र त्यसको कार्यान्वयन प्रक्रिया अघि बढिरहेको छ । साथै, पर्यटन वर्ष घोषणा, पदमार्ग निर्माण, सडक सञ्जाल विस्तार र पुल निर्माणलाई पनि उच्च प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

कोरोना महामारीका बेला प्रदेश सरकारले प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा पनि कोशी प्रदेश सरकारलाई देखिने, सुन्ने र अनुभूति गर्न सकिने जनताको सरकारका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?