काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले साम्यवादी र समाजवादी दर्शनहरू असफल भइसकेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष लिङ्देनले समाजवाद र साम्यवादको दर्शन असफल भई विश्वका ठूल्ठूला राष्ट्रहरू पनि संवर्द्धनवादतर्फ उन्मुख भइरहेको जिकिर समेत गरे । उनले मुलुकलाई बनाउन पनि र बचाउन पनि संवर्द्धनवाद उपयुक्त विचारधारा भएकाले आफ्नो पार्टीले त्यसलाई अंगिकार गरेर अघि बढेको समेत बताए ।
उनले भने,‘संवर्द्धनवाद यो केवल हामीलाई मात्रै ठिक लागेको दर्शन, विचार होइन । अहिले समाजवाद, साम्यवाद भनेको परम्पगत जो दार्शनिक अवधारणहरू छन् । समाज विभाजित थियो, विश्व विभाजित थियो । अब त्यो दार्शनिक मान्यताहरू असफल भईसकेर अब फेरि समाज कतातिर गईराखेको छ भने अब मेरो परम्परा, मेरो राष्ट्र प्रथम हो भन्ने मान्यतातर्फ संसार भईराखेको छ । र अहिले संसारका ठूल्ठूला देशहरू अहिले त्यो मान्यताबाट प्रेरित भएर अगाडि बढिराखेका छन् । र संसारमा यो संवर्द्धनवाद, जसलाई अनेक नाम दिएका होलान् । अहिले यसको व्याख्याको सन्दर्भमा पनि यसो भन्दा पो ठिक हुन्छ कि भनेर हाम्रा पूर्ववक्ताहरुले भन्नुभयो । तर मूल रूपमा, सार रूपमा चाहिँ मेरो परम्परा, मेरो राष्ट्र प्रथम र , परिवर्तन चाहिँ अब निरन्तरता सहितको दिगो र टिकाउ हुन्छ । जग नबनाई छत बनाउने कुरा चाहिँ काम लाग्दैन । त्यसले राष्ट्रलाई क्षति पुर्याउँछ, समाजलाई क्षति पुर्याउँछ भन्ने मान्यता अहिले विकसित भइराखेको छ । र अब हामी सबैको बाटो संवद्र्धनबाद हो । देश बनाउने र बचाउने बाटो संवर्द्धन वाद हो ।’
त्यस अवसरमा अध्यक्ष लिङ्देनले गैर आवासीय नेपालीहरूलाई वंशजको आधारमा नागरिकता दिन हिच्किच्याउनुपर्ने कुनै कारण नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया