काठमाडौं । सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४९ वर्षीय तीर्थनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको फुलहारा–३ घर भएका यादव हाल इटहरी–१३ स्थित रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए । गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएकोमा चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार फलाम फ्याक्ट्रीबाट कोशी राजमार्गमा निस्किएर दुहबीतर्फ आइरहेको को २७ प ८१३४ नम्बरको मोटरसाइकल र खनारबाट दुहबीतर्फ आउँदै गरेको प्र १-०२-०५२ प ३०५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
को २७ प ८१३४ नम्बरको मोटरसाइकल चालक दुहबी–८ बस्ने ४५ वर्षीय सुमन राई र प्र १–०२–०५२ प ३०५९ नम्बरका चालक सप्तरी रुपनी गाउँपालिका–३ घर भई हाल इटहरी–१३ बस्ने ४७ वर्षीय जयनारायण साहलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया