फेवातालमा कार खस्दा चालकको मृत्यु

लोकपथ
28
Shares

काठमाडौं । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा चालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-६ पामेस्थित गैराको चौतरा नजिक  विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको हो । 

घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका-५ घर भई हाल पोखरा-७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कार चालकले नियन्त्रण गुमाउँदा सवारीसाधन तालमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपालको कालिका गणबाट सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहको कमाण्डमा २१ जनाको टोली गोताखोरसहित उद्धारका लागि खटिएको थियो ।

गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई तालबाट बाहिर निकालेर उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालेर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा लगिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?