काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भोट दिनुअघि हजारौँ पटक सोच्न मतदातालाई आग्रह गरेका छन् ।
श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आग्रह गरेका हुन् ।
नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरुको मात्र नभई मतदाताको समेत दोष रहेको उनको भनाइ छ । उनले मतदान कन्यादान भन्दा समेत ठूलो कुरा भएको उल्लेख गर्दै सचेत भई राष्ट्र र समाजलाई चाहिने नेतालाई मात्र मतदान गर्न आग्रह गरे । मत एउटा गलत गलत व्यक्ति र गलत पार्टीलाई पर्यो भने सिंगो समाज र देशले दुःख पाउने उनको बुझाइ छ
उनले भने, ‘देश चुनावमा पसिसक्यो, २०,२१ दिन बाँकी छ । म यत्तिमात्र भन्छु तपाईहरु भोटदिनु अघि हजार चोटी सोचेर मात्र दिनुस् । हामीले लामो समयदेखि भन्दै आयौँ यो देशलाई धर्म निरपेक्ष बनाउनेमा यो संविधानमै धर्म निरपेक्ष शब्द घुसाउनेमा नेताको मात्र दोष छैन, त्यो नेतालाई भोट दिने हाम्रो हातको पनि दोष छ । हामीले भोट नदिएको भए धर्मनिरपेक्ष राष्ट्र बनाउँछु भनेर घोषणा पत्रमा लेखेर हिँड्नेहरुलाई भोट नदिएको भए देश धर्म निरपेक्ष हुँदैन्थ्यो । त्यसकारण यो देश धर्मनिरपेक्ष बन्नुमा हामी धर्मको ठाउँमा हिन्दु लेख्नेहरुको गल्ति छ । र आउने दिनमा आफ्नो हात आफ्नै धर्मको विरुद्ध प्रयोग नहोस् । अगामी दिनमा पछुताउनु नपरोस् । भोट दिने कुरा त छोरी दिनेभन्दा पनि ठूलो कुरा हो । छोरी दिन हामीले कतिधेरै कुरा हेर्छौँ ? कुटुम्ब आउनेबित्तिकै हामी छोरी दिन्छौँ र ? तर हामीले दिएको एउटा भोट गलत व्यक्ति र गलत पार्टीलाई परेछ भने त सिंगो समाज र सिंगो देशले दुःख पाउँछ ।’
राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई अघि सार्दै फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागि हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया