जसपा नेपालको चुनावी घोषणापत्र : वैदेशिक रोजगारीमा जाने श्रमिकलाई फ्री भिसा–फ्री टिकेट

लोकपथ
49
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र ल्याएको छ । 

शुक्रबार काठमाडौंंमा एक कार्यक्रमबीच जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका छन् । 

जसपा नेपालको चुनावी नारा ‘संघर्षसँगै समृद्धि’ रहेको छ । ‘जसपा नेपाल यो घोषणापत्र मार्फत यस्तो राज्य मोडल चाहन्छ– जहाँ राज्यको उद्देश्य नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो,’ घोषणापत्रमा भनिएको छ । 

जसपा नेपालले न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमा जोड दिँदै यी तीन कुरामार्फत नागरिकलाई राष्ट्र निर्माणमा सक्रिय बनाउन सकिने ठहर गरेको छ । 

जसपा नेपालले समावेशी लोकतान्त्रिक शासन प्रणाली स्थापनामा जोड दिँदै भनेको छ, ‘प्रस्तावित कार्यक्रमहरूको कार्यान्वयनमार्फत लोककल्याणकारी राज्यको स्थापना गर्दै समतामूलक समाजको निर्माण र समानतामा आधारित समावेशी समाजवादी लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्ने मूल लक्ष्य जसपा नेपालले राखेको छ ।’

जसपाले शासकीय स्वरूपमा परिवर्तन, राष्ट्रिय पहिचानमा सङ्घीयता र प्रादेशिक संरचना निर्माण, न्याय प्रणालीलाई सङ्घीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपालजस्ता निकाय गठन गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ । 

‘यसले केवल प्रशासनिक सङ्घीयताको पक्षपोषण गरेको छ । यसैले मुलुकको विद्यमान शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलाई यथावत् राखेर सङ्घीय समाजवादी व्यवस्थाको आधारशिला खडा हुन सक्दैन’, जसपाको भनाइ छ ।

साथै, जसपाले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क (फ्री भिसा र फ्री टिकेट) रोजगारी प्रदान गर्ने नीति लागू गर्ने जनाएको छ । त्यसबाहेक वैज्ञानिक भूउपयोग भूमिसुधार र भू–व्यवस्थापन नीति लागू गर्ने, कृषि जमिनको चक्लाबन्दी र कृषिको आधुनिकीकरण गर्ने जनाएको छ ।

जसपाले आफ्नो घोषणापत्रमा शिशु कक्षादेखि उच्च शिक्षासम्म एकरूपता,प्रविधिमैत्री, निःशुल्क, सिपमूलक र गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली विकास गर्ने जनाएको छ । यसबाहेक जसपाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने, २०४७ सालदेखि हालसम्म भएका निर्वाचित जनप्रतिनिधिहरू, प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?