निर्वाचनले मात्रै सबै राजनीतिक समस्या समाधान हुँदैन : गोपीबहादुर सार्की

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्कीले आगामी निर्वाचनले मात्रै मुलुकका विद्यमान राजनीतिक समस्याहरूको पूर्ण समाधान नहुने बताएका छन् । 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले निर्वाचनका क्रममा मतदाताहरू विशेष गरी युवाहरूको मनोविज्ञान र आवश्यकतालाई नजिकबाट बुझ्दा राजनीतिक स्तरमै समस्याको निकास खोजिनुपर्ने निष्कर्षमा पुगेको बताए । उनका अनुसार संविधान निर्माण र राज्यको पुनर्संरचना भए पनि त्यसको व्यवहारिक कार्यान्वयनमा अझै चुनौती कायम छ ।

सदस्य सार्कीले नयाँ र पुराना दुवै पुस्ताका मतदाताको सोच बुझ्दा अहिलेको चुनावले मात्रै सबै राजनीतिक समस्या समाधान नगर्ने अनुभूति भएको उल्लेख गरे । राज्यको केन्द्रीकृत ढाँचा तोडिएर उत्पीडित मधेसी, मुस्लिम, कर्णाली, जनजाति, दलित र महिलाहरूले अधिकार पाएको भए पनि कानुन निर्माणमा देखिएको सुस्तताका कारण राज्यप्रति वास्तविक अपनत्व अनुभूति हुन नसकेको उनको भनाइ छ ।

संविधानले जनतालाई राज्यको मालिक बन्ने ठाउँसम्म पुर्‍याए पनि विधि निर्माणको जटिलताले उपलब्धिहरू ओझेलमा परेको भन्दै उनले अब बन्ने नयाँ सरकारले कानुनी तथा विधिगत जटिलता समाधान गर्न विशेष तदारुकता देखाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?