‘निर्वाचनलाई निष्पक्ष र विश्वासिलो बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण’

लोकपथ
56
Shares

काठमाडौं । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी आवधिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो ढंगले सम्पन्न गर्न सञ्चार माध्यमको भुमिका निर्णायक हुने बताएका छन् ।

आयोगद्वारा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले आम नागरिकलाई सही, तथ्यपरक र तटस्थ सूचना प्रवाह गरी मतदानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका हुन् ।

सचिव राउतले सञ्चार माध्यमलाई लोकतन्त्रको ‘कर्नर स्टोन’ र राज्यको चौथो अङ्गको रूपमा उल्लेख गर्दै निर्वाचनका बेला हुने विभिन्न बहस र डिस्कोर्सहरूलाई प्रभाव पार्ने मुख्य माध्यम नै मिडिया भएको बताए ।

उनले मिडियाले प्रवाह गर्ने निष्पक्ष र तटस्थ सूचनाले नै निर्वाचनको वास्तविक विश्वसनीयता कायम गर्ने र मतदातालाई सक्षम बनाउनेमा जोड दिए । नेपालको संवैधानिक र कानूनी व्यवस्थाअनुसार हुन लागेको यस आवधिक निर्वाचनमार्फत सङ्घीय संसदको प्रतिनिधि सभाका लागि १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक गरी कूल २ सय ७५ जनप्रतिनिधिहरू छनौट हुन लागेको जानकारी उनले दिए । उनले यस प्रक्रियालाई देशको भावी भाग्य, विकास र समृद्धिको निर्माण गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा चित्रण गरे ।

उनले भने, ‘हामीले स्वतन्त्र, स्वच्छ, निष्पक्ष र विश्वासिलो निर्वाचन सम्पन्न गर्नको लागि अब मिडिया, आम सञ्चार माध्यमको महत्वपूर्ण भुमिका हुन्छ । र आम सञ्चार माध्यमका यहाँहरू सबैले आम नागरिकलाई सही, तथ्यपरक, निष्पक्ष र तटस्थ सूचना प्रवाह भयो भने मात्रै वास्तविक रूपमा स्वच्छ, निष्पक्ष र विश्वासिलो निर्वाचन हुन्छ । र आम नागरिकको वास्तवमा जुन मतको सही सदुपयोग उहाँहरूले गर्न सक्षम रहनुहुन्छ । त्यसले गर्दाखेरि निष्पक्ष, तटस्थ सूचना प्रवाह गर्न महत्वपूर्ण भुमिका आम सञ्चार माध्यमको हुने भएकोले सोही विषयलाई निर्वाचनसँग जोडेर प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो, यसको प्रमुख उद्देश्य त्यही नै हो । हाम्रो शासकीय प्रणाली, संवैधानिक कानुनी व्यवस्थाअनुसार हामीले आवधिक निर्वाचन मार्फत जनप्रतिनिधिहरू छनौट गर्छौँ विभिन्न तहका । र अहिले हामी सङ्घीय संसदको प्रतिनिधि सभाका १६५ प्रत्यक्ष र ११० समानुपातिक गरेर २७५ जनप्रतिनिधिहरू छनौट गर्दैछौँ। वास्तवमा यो एउटा महत्वपूर्ण अवसर हो जसले यो विगतको र अहिले वर्तमान अवस्थालाई यसको सिकाइहरूलाई लिएर देशको भावी भाग्य भविष्य, विकास समृद्धि र यसको समग्र हिसावले हाम्रा भावी पुस्ताको एउटा भाग्य निर्माण गर्ने एउटा महत्वपूर्ण माध्यम यो आवधिक निर्वाचन हो । त्यसैले लोकतन्त्र र निर्वाचनलाई चाहिँ हामीले एक अर्काका परिपूरकको रूपमा लिन्छौँ र आफूले पत्याएको प्रतिनिधिले आफ्नो भावना र चाहनालाई प्रतिनिधित्व गर्ने गरिकन शासन सत्तामा पुर्‍याउने एउटा माध्यम यो आवधिक निर्वाचन भएको हिसावले यहाँहरूले आम मतदातालाई सोही रूपमा निष्पक्ष, तटस्थ सूचना प्रवाह गर्नको लागि विभिन्न आम सञ्चार माध्यममा कार्यरत सबै साथीहरूलाई त्यही रूपमा प्रशिक्षित गरिदिनुहुनेछ भन्ने आयोगले अपेक्षा राखेको छ ।’

निर्वाचनले शासन प्रणालीलाई वैधता प्रदान गर्ने उल्लेख गर्दै सचिव राउतले वर्तमान विशिष्ट परिस्थितिमा रहेका समस्याहरू समाधान गर्न सही प्रतिनिधि छनौट गर्नु अनिवार्य रहेको बताए ।

आगामी दुई–तीन हप्ताको समय निर्वाचनको तयारीका लागि निकै महत्वपूर्ण रहेको भन्दै उनले आम मानिसलाई सुसूचित गराउन निर्वाचन आयोगले मिडियाबाट ठूलो सहयोगको अपेक्षा राखेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?