स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि आयोगको ‘अर्जुन दृष्टि’ : रामप्रसाद भण्डारी

लोकपथ
28
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

 काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ सम्पन्न भई ढुवानी प्रक्रिया सुरु भइसकेको र निर्वाचन सामग्रीहरू तोकिएको समयभन्दा अगावै मतदान केन्द्रमा पुग्ने सुनिश्चितता व्यक्त गरे ।

भण्डारीका अनुसार प्रारम्भिक दिनहरूमा केही जटिलता देखिए पनि हाल सबै आवश्यक सामग्रीहरू प्राप्त भइसकेका छन् । मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको र सम्बन्धित निर्वाचन क्षेत्र तथा मतदान केन्द्रमा पठाउने प्रक्रिया पनि सुरु भइसकेको उनले बताए ।

उनले भने, ‘मतदान अधिकृतहरूले तालिम लिनु अघि नै सबै सामग्री उनीहरूको जिम्मामा पुग्ने गरी कार्यतालिका बनाइएको छ। यसले निर्वाचनको अन्तिम तयारी पूर्ण भइसकेको संकेत गर्दछ ।’

निर्वाचन आयोगले यस पटक ऐतिहासिक रूपमा करिब ९ लाख ५० हजार नयाँ मतदाता थपिएको  जानकारी दिएको छ । आयोगले ठुलो संख्याको व्यवस्थापन र निर्वाचनको निष्ठा जोगाउन सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै सत्य र तथ्यपरक समाचार सम्प्रेषणमा जोड दिएको छ ।

छिमेकी मुलुक बंगलादेशको उदाहरण उल्लेख गर्दै भण्डारीले भने, ‘देशको अनुशासन कायम राख्न र लोकतन्त्र बलियो बनाउन निर्वाचन बाहेक अर्को विकल्प छैन ।’ निर्वाचनलाई पवित्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय र सञ्चार क्षेत्रको एकीकृत सहयोगको अपेक्षा आयोगले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?