बंगलादेशमा बीएनपीलाई भारी बहुमत, अब खालिदा जियाका जेठा छोरा बन्नेछन् प्रधानमन्त्री

लोकपथ
329
Shares

बंगलादेश । बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २ सय ९९ सिटमध्ये २ सय ११ सिटमा जितेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । बहुमतका लागि १ सय ५० सिट चाहिनेमा बीएनपीले त्यो भन्दा बढी ६१ सिट जितेको हो । 

उता, जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले अहिलेसम्म ७० सिट मात्र जितेको छ । जमात प्रमुख सफिकुर रहमानले ढाका–१५ बाट जित हासिल गरेका छन् । 

विद्यार्थी आन्दोलनपछि अपदस्थ हुँदै भारतमा निर्वासित शेख हसिनाको पार्टी अवामी लिग निर्वाचनमा सहभागी नभएका कारण बीएनपीलाई यसको प्रत्यक्ष फाइदा पुगेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

निर्वाचनमा बीएनपीको नेतृत्व तारिक रहमानले गरेकोमा उनैलाई अब नयाँ प्रधानमन्त्रीका रूपमा हेरिएको छ । उनी बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन् । 

अब बंगलादेशको सम्भावित प्रधानमन्त्रीका रूपमा उनले जनताको विश्वास जित्ने र देशमा लोकतान्त्रिक स्थिरता कायम गर्ने ठूलो चुनौतीको सामना गर्नुपर्नेछ । तारिक रहमानको यो पुनरागमनलाई धेरैले ’खरानीबाट पुनः उठेर उभिएको’ नेतृत्वको रूपमा हेरेका छन् । 

राजनीतिक विश्लेषकहरूका अनुसार तारिक रहमानले प्रतिकूल परिस्थितिमा पनि पार्टीलाई एकजुट राख्न सफल भएका छन् ।

तारिकको जन्म २० नोभेम्बर १९६५ मा भएको थियो । उनी १७ वर्षको लामो निर्वासनपछि सक्रिय राजनीतिमा फर्किएका हुन् ।

रहमान बंगलादेशी राजनीतिमा तारिक जियाको नामले चिनिन्छन् । उनको जीवन र राजनीतिक पहिचान धेरै हदसम्म उनको पारिवारिक नामसँग जोडिएको छ । रहमान जन्मिँदा बंगलादेश पूर्वी पाकिस्तानका रूपमा चिनिन्थ्यो । अर्थात्, बंगलादेश वर्तमान पाकिस्तानकै एक भाग थियो । १९७१ को मुक्ति युद्ध (बंगलादेशको स्वतन्त्रता युद्ध) को समयमा तारिक केवल ४ वर्षको थिए र उनलाई छोटो समयका लागि हिरासतमा राखिएको थियो । जसकारण उनको पार्टी बीएनपीले उनलाई ‘युद्धका सबैभन्दा कान्छा कैदीमध्ये एक’ भनेर सम्मान गर्छ ।  

करिब १७ वर्षसम्म लन्डनमा राजनीतिक शरण लिएर बसेका तारिक रहमान सन् २००७ मा भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए भने १८ महिना जेलमा बसेपछि उपचारका लागि भन्दै लन्डन गएर उतै बसेका थिए । उनी गत डिसेम्बर २६ मा मात्र ढाका फर्किएका थिए ।

स्वदेश फर्किएको ५ दिनमै उनले आमा तथा पूर्वप्रधानमन्त्री खालिदालाई गुमाउनु परेको थियो । त्यसपछि तारिकले पार्टीको पूर्ण नेतृत्व सम्हालेका थिए । जनवरी ९ मा उनलाई औपचारिक रूपमा बीएनपीको अध्यक्ष चुनिएको थियो ।

उनको राजनीतिक यात्रा सन् १९८८ बाट सुरु भएको भए पनि २००१ को निर्वाचनपछि उनी पार्टीमा शक्तिशाली नेताका रूपमा उदाएका थिए । उनको नेतृत्वमा बीएनपीले दर्जनौँ ¥याली र चुनावी अभियानहरू सञ्चालन गरेको थियो । 

तारिक रहमानको राजनीतिक जीवन विवादमुक्त भने छैन । २००१ देखि २००६ सम्म बीएनपीको शासनकालमा उनी र उनका निकटवर्तीहरूमाथि हावा भवन मार्फत समानान्तर सत्ता चलाएको र व्यापक भ्रष्टाचार गरेको आरोप लागेको थियो । सन् २००४ मा शेख हसिनाको ¥यालीमा भएको ग्रेनेड हमलामा पनि उनलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको थियो । तर, अवामी लिग सरकारको पतनपछि उनीमाथि लागेका धेरैजसो मुद्दाहरू खारेज भइसकेका छन् । बीएनपीले यी सबै आरोपलाई राजनीतिक प्रतिशोध मात्र भएको बताउँदै आएको छ ।

अवामी लिग चुनावमा नभएको अवस्थामा बीएनपीका लागि बाटो सहज छ । तर अब उसको मुख्य प्रतिस्पर्धीका रूपमा कट्टरपन्थी मानिने जमात–ए–इस्लामी उदाएको छ । 

यस्तै, बंगलादेशमा विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी नेसनल सिटिजन्स पार्टी (एनसीपी) ले ६ सिट मात्रै जित्ने निश्चित भएको छ । बंगलादेशको अनलाइन द डेली स्टारले मतगणना भइरहेको ६ सिटमा मात्रै एनसीपीले जित्ने निश्चित भएको जनाएको छ । एनसीपी नेता नाहिद इस्लामले मतदानअघि एनसीपीसहितको गठबन्धनले सरकार बनाउने दाबी गरेका थिए । 

सन् २०२४ को जुलाईमा भएको विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई देशै छाड्न बाध्य बनाएको थियो । त्यतिबेला विद्यार्थीहरूको आन्दोलनमा सरकारले दमन गर्दा झन्डै १ हजार ४ सय  जना आन्दोलनकारीको मृत्यु भएको थियो । हसिना देश छाडेर भागेपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई बेलायतबाट बोलाएर अन्तरिम सरकार गठन गरिएको थियो । आन्दोलनको नेतृत्वकर्ताहरू पनि सरकारमा सहभागी भएका थिए ।

बीएनपीद्वारा विजयी जुलुस र उत्सव नमनाउने निर्णय, त्यसको सट्टा ’प्रार्थना सभा’

बंगलादेशको आम निर्वाचनमा सानदार जित हासिल गरेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले अहिले कुनै पनि प्रकारको विजय उत्सव, जुलुस वा सार्वजनिक सभाहरू नगर्ने निर्णय गरेको छ । सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई संयमित रहन र उत्सवको सट्टा प्रार्थनामा केन्द्रित हुन निर्देशन दिएको छ ।

बीएनपीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबारको नमाज (जुम्मा) पछि देशभरका मस्जिदहरूमा विशेष प्रार्थना सभा आयोजना गरिनेछ । यो कार्यक्रम मुख्यतया दिवंगत नेतृ खालिदा जियाको स्मरण र देशवासीको समृद्धिका लागि केन्द्रित हुने समाचारमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय पूर्वप्रधानमन्त्री खालिदा जियाको आत्माको शान्ति र सम्पूर्ण देशवासीको भलाइका लागि प्रार्थना गरिनेछ ।’

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बीएनपीकी लामो समयसम्म नेतृत्व सम्हालेकी प्रभावशाली नेतृ खालिदा जियाको गत डिसेम्बर ३० मा ८० वर्षको उमेरमा निधन भएको थियो । उनी बंगलादेशी राजनीतिको एक शिखर व्यक्तित्व थिइन् ।

हसिनाद्वारा निर्वाचन परिणाम अस्वीकार 

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले बिहीबार सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन् । भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी ‘अवामी लिग’ लाई चुनावमा प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर निर्वाचन गराएको आरोप लगाउँदै यसलाई अस्वीकार गरेकी हुन् । 

निर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै हसिनाले भनिन्, ‘मोहम्मद युनुसले असंवैधानिक तरिकाले सत्तामा कब्जा जमाए र सोही सेटिङअन्तर्गत यो देखावटी चुनाव गराइएको हो । जनमतलाई कुल्चिएर गरिएको यो निर्वाचनको कुनै वैधानिकता छैन ।’

हसिनाले मुख्य प्रतिस्पर्धी दल अवामी लिगलाई प्रक्रियाबाटै बाहिर राखेर गरिएको चुनावले बंगलादेशी जनताको वास्तविक प्रतिनिधित्व नगर्ने दाबी पनि गरेकी छन् । १५ वर्षसम्म बंगलादेशमा शासन गरेकी हसिनाको पार्टीलाई यसपटक चुनाव लड्न रोक लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?