काठमाडौं । काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र र आसपासमा जुलुस, प्रदर्शन, हड्ताल, र्याली तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने स्पष्ट गरेको छ ।
यस्ता गतिविधि भए प्रचलित कानुनअनुसार कडाइका साथ कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले फागुन १ गते विमानस्थल र वरपरका क्षेत्रमा प्रदर्शन तथा भेला गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएका विज्ञप्ति र सामाजिक सञ्जालका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । । स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम यस्ता कार्यक्रम गर्न पूर्वस्वीकृति आवश्यक पर्ने भए पनि कसैले अनुमति नलिएको उनले बताए ।
प्रशासनले निर्वाचन आचारसंहिता लागू भइसकेको वर्तमान अवस्थामा यस्ता गतिविधि पूर्ण रूपमा बन्देज रहेको उल्लेख गरेको छ । साथै, यस्ता कार्यक्रममा निर्वाचनविरोधी भनिएका समूहको घुसपैठ हुन सक्ने सम्भावनाप्रति पनि सचेत गराइएको छ ।
जारी गरिएको सार्वजनिक सूचनामा प्रशासनले आसन्न निर्वाचन, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान, विमानस्थलजस्तो संवेदनशील स्थानको सुरक्षा, यात्रुहरूको सहज आवागमन र सार्वजनिक सडकमार्गमा यातायात सञ्चालनलाई ध्यानमा राख्दै कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हड्ताल, र्याली वा भेला नगर्न–नगराउन आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि गर्न प्रेरित वा उक्साउने कार्यसमेत नगर्न भनिएको छ ।
निषेधित तथा संवेदनशील क्षेत्रमा कानुन विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने काठमाडौं जिल्ला प्रशासन कार्यालय ले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया