निर्वाचनका लागि शान्ति सुरक्षा चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएकी छन् ।

सुनसरीमा कोशी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै उनले यस्तो निर्देशन दिएकी हुन् ।

उनले निर्वाचनको माहोल उत्साहजनक रहेको र सुरक्षा निकाय तथा प्रशासनिक क्षेत्रको तयारी प्रशंसनीय रहेको बताइन् ।

सुनसरी, मोरङ, सोलुखुम्बु र भोजपुर लगायतका जिल्लाको स्थलगत निरीक्षण र वस्तुस्थिति बुझेपछि उनले मंसिर २१ गते हुने मतदानको सम्पूर्ण तयारी करिव पूरा भएको उल्लेख गरिन् ।

सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरुको रिपोर्टिङ र कार्य सम्पादनको मूल्यांकन गर्दै कार्कीले छोटो समयमा धेरै काम भएको बताइन् ।

निर्वाचन आयोगले निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै निकै मेहनतका साथ काम अघि बढाएको र अब २१ गतेको मतदान मात्र बाँकी रहेको जस्तो देखिएको उनको भनाइ छ ।

जिल्ला जिल्लामा तयारीका क्रममा केही कठिनाइ भएपनि हालसम्मको प्रगति सन्तोषजनक रहेको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘यो छोटो समय हो, एकदमै छोटो समय छ । हामी हुन त निर्वाचन आयोगले त घोषणा भएको दिन देखि नै काम सुरु गर्यो । अब सबै कुरो त जिल्ला जिल्लामा हुन त गाह्रो छ नि तर तपाईहरुको अनुसार चाहिँ अहिले जति पनि गरिरहनुभएको छ राम्रो गरिरहनुभएको छ । अब २१ गते भोट कास्टिङ मात्रै हुने अवस्था अब बाँकी रह्यो । त्यसैकारण त्यो लास्टमा केही हुने हो कि भन्ने हामीले सतर्क त हुनै पर्यो त्यतिबेला हुनुपर्यो ।’

सोलुखुम्बुको सल्लेरी र भोजपुरको स्थलगत भ्रमणको चर्चा गर्दै कार्कीले ती क्षेत्रहरु भारतीय सीमासँग नजोडिएकाले सुरक्षाका दृष्टिले तुलनात्मक रुपमा शान्त रहेको बताइन् ।

सुरक्षा निकायले एकीकृत रुपमा गरिरहेको गस्ती र मुभमेन्टले सुरक्षा प्रत्याभुतिमा मद्दत पुर्‍याएको उनको विश्लेषण छ ।

यद्यपि उम्मेदवारहरु बीचको हारजितको टक्करले उत्पन्न हुनसक्ने विवाद र फर्जी मत रोक्न विशेष शतर्कता अपनाउनुपर्नेमा उनले जोड दिइन् ।

निर्वाचनमा भाग नलिने समूह र दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन जस्ता पक्षहरुले केही व्यवधान सिर्जना गर्न सक्नेतर्फ संकेत गर्दै कार्कीले सुरक्षा व्यवस्थालाई कडा बनाउनुपर्ने बताइन् । सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकको सहयोग र आपसी समन्वयले सुरक्षा नियन्त्रणमा सहज हुने उनको विश्वास छ ।

विगतका चुनावको तुलनामा अहिले ‘पिन ड्रप साइलेन्स’ र मर्यादित प्रचारप्रसार देखिनु सकारात्मक पक्ष भएको उनले औंल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?