यसै भन्न सकिने अवस्थामा छैन भक्तपुर–२ : महेशको दबदबा, कबिरको ‘त्यो चाल’, के छ नयाँको हाल ?

भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको मनमष्तिस्कमा जित्नै पर्ने दबाब बढ्दै गएको छ । यता मतदाताले पनि नीति निर्माणदेखि आफ्नो क्षेत्रका लागि काम गर्न सक्ने अब्बल प्रतिनिधि छान्ने दायित्व बढ्दै गइरहेको छ ।

देशैभर नयाँ अनुहारप्रति आकर्षण भइरहेको बेला भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ का स्थानीय पनि यसबाट बञ्चित रहेनन् ।

मुलुकभर पुराना दलहरुप्रति देखिएको आक्रोश, पुराना नेताहरुप्रतिको वितृष्णा र सुस्त कर्मचारीतन्त्रबाट आजित भएका जनतामा नयाँ बन्ने सरकारले सबै समस्या हल गर्नेमा आशावादी छन् । तर नयाँ आउने प्रतिनिधिले पनि जनताका गुनासो सम्बोधन गर्लान कि नगर्लान्, भोट माग्ने बेला आउने तर जितेपछि मुखै नदेखाउने प्रवृति नयाँमा पनि हुने हो कि भन्ने डर पनि छ ।

तर पनि पुरानालाई अब विश्वास गर्न सकिन्न नयाँलाई नै यसपटक अवसर दिने भन्दै लहर नै चलेको छ । भक्तपुर २ यसै पनि सधैँ नयाँ अनुहारको खोजीमा भौंतारिन्छ । यस क्षेत्रमा कुनै पनि अनुहार दोहोरिएको इतिहास भेटिन्न ।

गत प्रतिनिधिसभाको निर्वाचन अर्थात् २०७९ मा कांग्रेसका दुर्लभ थापा यस क्षेत्रबाट विजयी भएका थिए । थापाले २४ हजार २३९ मत प्राप्त गर्दा एमालेका तर्फबाट उम्मेदवार बनेका महेश बस्नेतले २३ हजार २८२ मत ल्याएका थिए । अघिल्लो पटकको सांसद अर्थात् २०७४ को चुनावमा जित हासिल गरेका बस्नेत २०७९ सालमा भने कांग्रेसका उम्मेदवारसँग पराजित भए । २०७४ मा महेश बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा कांग्रेसका दमननाथ ढुङ्गानाले १८ हजार ६८७ मत ल्याएका थिए । २०७९ को चुनावमा पराजित भएका एमालेका उम्मेदवार बस्नेत यसपटक ‘कमब्याक’ गर्ने दाउमा छन् ।

यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी र रास्वपाको पनि राम्रो मत छ । २०७९ को चुनावमा तेस्रो स्थानमा नेमकिपा, चौथोमा रास्वपा र पाँचौमा राप्रपा थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारहरूले फेरि मत मागिरहेका छन् । यो क्षेत्रमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, नेमकिपा, उज्यालो र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यस्तो छ भक्तपुर–२ को अंकगणित र उम्मेदवारको अवस्था

भक्तपुरको क्षेत्र नम्बर २ मा ४८ हजार ०७४ पुरुष ५० हजार २७७ महिला तथा ५ जना अन्य गरी कुल ९८ हजार ३५६ मतदाता रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरको क्षेत्र नम्बर २ मा कुल ३९ मतदान स्थल रहेको छ भने ११४ मतदान केन्द्र रहेका छन् । भक्तपुर–२ मा सुर्यविनायक नगरपालिकाका १० वटा वडा र मध्यपुर थिमी नगरपालिका का ९ वटा वडा समेटिएका छन् ।

भक्तपुर–२ मा एमाले सचिव महेश बस्नेत, कांग्रेसका कविर राणा, नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा (दीपशिखा), रास्वपाका राजीव खत्री, राप्रपाका विक्रम थापा, नेमकिपाका रमेश वैद्य, उज्यालो नेपाल पार्टीका जितराम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जन्मदेव जैसीलगायत ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

भत्तपुर– २ का रोचक उम्मेदवारहरु

सुर्यविनायक नगरपालिका–७ का स्थायी उम्मेदवार बस्नेत २०७९ मा भएको आफ्नो हारको बदला लिएर यसपटक ‘कमब्याक’को खोजीमा छन् । २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री बनेका बस्नेत २०७४ देखि २०७९ सम्म भक्तपुरको विकासमा आफूले योगदान पुर्‍याएको दाबी गर्छन् । भदौ २३ र २४ गते भएका जेनजी आन्दोलन पछिको उनको सक्रियताले उनी एकपटक फेरि चर्चामा आएका पात्र हुन् । बस्नेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका ‘खास मान्छे’का रुपमा पनि परिचित छन् । विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्नुपर्छ भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिने गरेका बस्नेत निर्वाचनमा भने आफै उम्मेदवार बनेका छन् । पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा काम गर्ने र आफू केवल नीति बनाउने नेता मात्र नभई समृद्ध भक्तपुर बनाउने सारथी बन्ने भन्दै बस्नेतले दाबी गरिरहेका छन् र मतदातासँग मत मागिरहेका छन् ।

नयाँ दल र नयाँ उम्मेदवारको लहर चलिरहेको बेला नेपाली कांग्रेसले २०७९ सलको आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ । यस क्षेत्रमा अघिल्लोपटक कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका थिए । थापा एमाले प्रतिद्वन्द्वी महेश बस्नेतलाई हराएर विजयी भएका थिए । तर यसपटक कांग्रेसले यस क्षेत्रबाट कविर राणालाई उम्मेदवार बनाएको छ । जिल्ला सभापति समेत रहेका राणा आफ्नो स्थान पक्का गर्न मैदानमा छन् । भक्तपुरमा विकास निर्माणका काम अझै धेरै बाँकी रहेको भन्दै उनले विकास र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा (दीपशिखा)ले विगतमा कांग्रेस र एमालेसहितका दल परीक्षण भएकाले यसपटक भक्तपुरवासीले आफूलाई जिताउने दाबी गर्छन् । सापकोटा युवा–विद्यार्थी राजनीति र माओवादी आन्दोलनबाट उदाएका नेता हुन् । भक्तपुरको रैथाने उत्पादनको प्रवद्र्धन, पर्यटकीय क्षेत्र, स्वास्थ्य, कृषिको उत्पादन र आत्मनिर्भर बनाउने योजनासहित उनी प्रतिस्पर्धामा उत्रेका छन् । सापकोटाले भक्तपुरमा एउटै प्रतिनिधि नदोहोरिने भएकाले मतदाताले यसपटक आफूलाई जिताउने दाबी गरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारिता पृष्ठभूमीबाट आएका राजीव खत्रीलाई प्रतिस्पर्धामा उतारेको छ । खत्री पत्रकारिता पेसाबाट चर्चामा आएका पात्र हुन् । सांसदले बाटो–घाटो र विकास निर्माण जस्ता काम प्रत्यक्ष रूपमा नगरे पनि ती कार्यका लागि आवश्यक नीतिगत सहजीकरण गर्ने योजना उनको छ । यो निर्वाचन उम्मेदवारको मात्र परीक्षा नभई मतदाताको पनि परीक्षा हो भन्दै उनी मतदाता फकाईरहेका छन् ।

यता भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीको पकड रहँदा २ मा भने कमजोर देखिन्छ । नेमकिपाबाट उम्मेदवारका रुपमा रमेश वैद्य मैदानमा छन् । वैद्यले शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने योजना सुनाउँदै मत मागिरहेका छन् ।‘योग्यताअनुसारको काम, काम अनुसारको ज्यालाको व्यवस्था गर्न, उत्पादनका मुख्य साधनहरूको राष्ट्रियकरण गर्न, युवालाई देशमै रोजगारी दिन, नवयुवालाई सैनिक तालिमको व्यवस्था गर्न र सबैखाले विदेशी अतिक्रमणविरुद्ध आवाज बुलन्द गर्ने,’ वैद्यले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

जेनजी आन्दोलन पछि चर्चामा आएका उज्यालो नेपाल पार्टीका उपाध्यक्ष जितराम लामाले पनि आफ्नो उम्मेदवारी यसै क्षेत्रमा दर्ता गराएका छन् । २०८२ कात्तिकमा स्थापना भएको यस पार्टीका अध्यक्ष कुलमान घिसिङ रहेकाले पनि निकै कम समयमा धेरैले चिन्ने पार्टी बनेको छ । उनेपाले फागुन २१ को चुनावपछि बहुमतको सरकार बनाउने योजना सहित रास्वपासँग एकता गरेको थियो, तर एकता केही दिनमै भाँडिएपछि उनेपा थप चर्चामा छ । आफू २० वर्षदेखि यही क्षेत्रमा बसिरहेकोले त्यहाँका जनताका समस्या नजिकबाट बुझेको भन्दै आफूले यहाँका जनताका समस्या समाधान गर्ने दाबी लामाले गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि र आर्थिक विकासमा योगदान दिने उनको एजेन्डा छ ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बनेका जन्मदेव जैसी पनि भक्तपुर २ का लागि नयाँ अनुहार हुन् । उनी भक्तपुरलाई केवल ऐतिहासिक सहरका रुपमा मात्र नभई उत्पादन, रोजगारी र सुशासनको नमुना क्षेत्र बनाउने दाबी गरिरहेका छन् ।राप्रपाका उम्मेदवार विक्रम थापा भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धतासहित मतदातासँग मत मागिरहेका छन् ।

२०७९ मा समानुपातिकको अंकगणित : कसको कति मत ?

२०७९ को प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो हुँदा समानुपातिकतर्फ भने नेकपा एमालेले बाजी मारेको थियो । १७ हजार ८७६ मत ल्याउँदै एमाले भक्तपुर २ मा पहिलो पार्टी बनेको थियो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १४ हजार ८९६ मत पाएको थियो। ११ हजार ८९६ मत ल्याएर रास्वपाले दुई ठुला दललाई कडा टक्कर दिँदै तेस्रो स्थानमा पुगेको थियो । यता नेमकिपाले ७ हजार ८६३ मत ल्याएर चौथो हुन सफल भएको थियो । ५ हजार ४८९ मत प्राप्त गर्दै राप्रपा भने पाँचौ स्थानमा रहेको थियो ।अन्य दलहरुले भने थोरै मत मात्रै प्राप्त गरेका थिए ।

२०७९ को वडागत विवरण

२०७९ को प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो हुँदा समानुपातिकतर्फ नेकपा एमाले बाजी मार्दा वडागत प्रतिनिधिमा भने मिश्रित परिणाम देखिएको थियो ।

सूर्यविनायक नगरपालिका भित्रका १० वटा वडा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछन् । वडा नम्बर १ मा नेकपा एमालेबाट सानु काजी कायष्ठले १ हजार ३१० मत ल्याएर जितेका थिए । वडा नम्बर२ मा नेपाली कांग्रेसका प्रदिप कार्की १ हजार ५११ मत ल्याएर विजयी भएका थिए । त्यसैगरी ३ मा नेपाली कांग्रेसबाट १ हजार १७४ मत ल्याएर दिपेन्द्र केसी, ४ मा १ हजार ७६२ मत ल्याउँदै लछु राम न्यौपाने नेपाली कांग्रेसबाट विजयी भएका थिए । वडा नम्बर ५ मा एमालेका राज कुमार जोशी २ हजार १२१ मत ल्याउँदै उक्त वडाबाट विजयी भएका थिए भने वडा नम्बर ७ मा कांग्रेसका ईश्वर खड्का५१२ मतसहित निर्वाचित भएका थिए । वडा नम्बर७ मा १ हजार ७३१ मत ल्याउदै एमालेका रविन्द्र सापकोटा विजयी बने भने वडा नम्बर ८ मा नेकपा एमालेबाट पुष्प राज बस्नेतले २ हजार १२२ मत पाएर विजयी भएका थिए । वडा नम्बर ९ बाट नेपाली कांग्रेसका भगवान खत्री १ हजार ५०९ मतबाट विजयी हुँदा वडा नम्बर १० मा नेकपा एमालेका शिव राम राउत १ हजार ७६८ मत पाएर विजयी भएका थिए ।


यता भत्तपुर निर्वाचन क्षेत्रनम्बर २ भित्र ९ वटा वडा रहेको मध्यपुर थिमी नगरपालिका समेत रहेको छ । मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ मा १ हजार ७०६ मतसहित नेपाली कांग्रेसबाट बाबु काजी डंगोल, २ मा नेपाली कांग्रेसबाटै ९८८ मत ल्याएरश्रीकृष्ण श्रेष्ठ, ३ मा २ हजार २५२ मत ल्याएर नेपाली कांग्रेसका कृष्ण हरि आचार्य, ४ मा १ हजार ९३५ मतसहित एमालेका बाल कृष्ण श्रेष्ठ विजयी भए । वडा नम्बर ५ मा २ हजार ३६२ मत ल्याएर नेपाली कांग्रेसका बाल कृष्ण श्रेष्ठ विजयी भए । वडा नम्बर६ मा नेपाली कांग्रेसकै ज्ञान दास प्रजापति १ हजार ७२३ मत ल्याएर विजयी भए भने ७ मा १ हजार २६६ मत ल्याएर एमालेका कृष्ण कुमार प्रजापति विजयी भए । वडा नम्बर ८ मा नेपाल मजदुर किसान पार्टीका रमेश थापा श्रेष्ठले १ हजार २२६ मत पाएर विजयी भए भने वडा नम्बर ९ मा नेपाली कांग्रेसका सानु काजी राजवाहकले १ हजार २२६ मत ल्याएर विजयी बने ।

भक्तपुर क्षेत्र नम्बर २ नेमकिपा, कांग्रेस र एमालेले आलोपालो जित्दै आएको क्षेत्र हो । तर यसपटक नयाँ उम्मेदवारहरू प्रतिस्पर्धामा आएसँगै पुराना भर्सेस नयाँको प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रका उम्मेदवारहरु विभिन्न पेसाबाट पहिलेनै चर्चा कमाएकाले राजनीतिमा उनीहरुको योग्यताको परीक्षा पनि हुने देखिन्छ । जनताले नयाँ अनुहार र पार्टी भनिरहेका बेला पुराना दलहरु आफ्नो अस्तित्व र साख जोगाउने तयारीमा छन् भने नयाँ दल र व्यक्तिहरु भक्तपुर २ को इतिहास जस्तै दोहोरिन नदिने रणनीतिमा छन् ।

को कसका लागि भारी ?

महेश बस्नेतको क्षेत्र भएको कारण भक्तपुर २ मा एमालेलाई बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ । किनभने अघिल्लो निर्वाचनमा एमालेले पाएको समानुपातिक मत, माओवादीले कांग्रेसलाई गरेको समर्थन र एक्लाएक्लै लड्दा प्राप्त हुने मत आदि कारणले एमालेलाई बलियो शक्तिका रुपमा लिन सकिन्छ ।

तर अघिल्लोपटक जितेको दल, राम्रो जनमत रहेको स्थान आदि कारणले पनि कांग्रेस एमाले जत्तिकै बलियो दल हो भक्तपुर २ मा । पूर्व पत्रकार, पार्टीका सभापति आदि रहेको कारणले पनि भक्तपुर २ मा कांग्रेससमेत उत्तिकै बलियो दल हो ।
अघिल्लो निर्वाचनमा समानुपातिकमा तेस्रो दल बनेको रास्वपाको यसपटकका देशव्यापी माहोलले भक्तपुर २ मा पनि उत्तिकै प्रभाव पारेको छ । यहाँ रास्वपाबाट राजीव खत्री प्रतिस्पर्धामा आएका छन् । मतदाताहरुलाई यसपटक नयाँलाई भोट हालौँ भनिरहेका छन् । यता नेपाल मजदुर किसान पार्टीको समेत राम्रो पकड भएको क्षेत्र भएकाले यस क्षेत्रमा नेमकिपा समेत बलियो दल हो ।

अघिल्लो मतको अंकगणित, राजनीतिक दलहरुको हैसियत र जनमतका आधारमा यसपटक भक्तपुर २ मा मुख्यतः ३ राजनीतिक दलबिच प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लोपटक चुनाव जितेको कारण नेपाली कांग्रेस, महेश बस्नेतको क्षेत्र भएको र राम्रो पकड रहेको कारण नेकपा एमाले तथा नयाँ दलका रुपमा रास्वपाबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रमा नेमकिपाको समेत राम्रो मत आएको कारण नेमकिपा समेत बलियो दलका रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?