निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली र पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते निर्वाचन समयमै सम्पन्न गर्न सकिने स्पष्ट पारेकी छिन् ।

सोलुखुम्बु पुगेर निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र भौगोलिक चुनौतीको स्थलगत निरीक्षण गरेपछि उनले सोलुखुम्बु सहित सबै हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्भव रहेको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले कुनै बहानामा निर्वाचन सार्ने अवस्था नरहेको भन्दै भनिन्, ‘देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन। हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।’

उनले मतदान भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरिन् । साथै, सम्बद्ध सबै निकायलाई निर्वाचनमा केन्द्रित भएर काम गर्न निर्देशन दिइन् ।

जिल्ला सुरक्षा समितिसँगको ‘ब्रिफिङ’का क्रममा उनले मतदाताले डर वा दबाबविना मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न विशेष निर्देशन दिइन् र दुर्गम मतदान केन्द्रमा थप सुरक्षा जनशक्ति परिचालन गर्न सुझाइन् ।

सोलुखुम्बुमा १२३ मतदान स्थल रहेका छन्, जसमध्ये सातवटा हिमाली क्षेत्रमा पर्दछन् । जिल्ला प्रशासनले मौसम र भौगोलिक जोखिमलाई ध्यानमा राखी वैकल्पिक योजना तयार गरेको जनाएको छ ।

प्रधानमन्त्री कार्कीले दुर्गम हिमाली जिल्लामा पनि मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सहज मतदानका लागि सबै आवश्यक व्यवस्था मिलाइने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?