प्रणयशमशेर राणाले पनि छाडे रास्वपा, भने : ‘बेथितिका बाबजुद मूकदर्शक भएर बस्न विवेक र इमानले मानेन’

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणयशमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले रास्वपामा बेथिति बढेको र त्यसका बाबजुद मूकदर्शक भएर पार्टीमै रहिरहन आफ्नो विवेक र इमानले नमानेका कारण राजीनामा दिएको बताएका छन् । 

उनले बिहीबार महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई सम्बोधन गरेर पठाएको पत्रमा लेखेका छन्, ‘सबै बेथितिका बाबजुद मूकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु ।

उनले आन्तरिक अभ्यास सही ढंग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास आफूले गर्न नसक्ने र अन्धभक्ति गर्न पनि नचाहेको पत्रमा उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले गरेको ‘प्राइमरी इलेक्सन’ प्रति पनि असन्तुष्ट देखिँदै आएका राणाले भनेका छन्, ‘प्राइमरी चुनावमा सधैँ ५० प्रतिशत चलखेलको बाटो राखियो । अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो, १ हजार सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रियामात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता÷अपचलन देखियो ।’

पार्टी स्थापनाकालमा गरिएको रास्वपाको वाचा ‘बेथितिको अन्त्य थितिको थालनी’ ठीक उल्टो भएर ‘थितिको अन्त्य–बेथितिको थालनी’ हुन पुगेको राणाको टिप्पणी छ । उनले भनेका छन्, ‘सीमित केही बोल्ने साथीहरूको हविगत आम नेपालीलाई थाहा भइसकेको छ, सुशासन, जबाफदेहिता, आर्थिक पारदर्शिता अब पार्टीको नारामा मात्रै सीमित रहेको छ, अभ्यासमा फिटिक्कै छैन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?