नेतन्याहु र ट्रम्पबिच तीन घण्टा लामो वार्ता : के–के भयो कुराकानी ?

लोकपथ
119
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता प्रक्रिया जारी रहने बताएका छन् । 

ह्वाइट हाउसमा भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको बैठकपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

ट्रम्पले इरानसँगको वार्ता निरन्तरता दिनुपर्ने आफ्नो अडान दोहोर्‍याउँदै हालसम्म कुनै ठोस निष्कर्ष ननिस्किएको बताए । ‘यदि सम्झौता सम्भव भयो भने त्यो हाम्रो प्राथमिकता हुनेछ,‘ट्रम्पले भने, ‘यदि भएन भने त्यसको नतिजा के हुन्छ, हेर्नुपर्नेछ ।’

बैठकमा दुवै नेताले गाजा तथा समग्र मध्यपूर्व क्षेत्रमा भइरहेको पछिल्लो प्रगतिबारे पनि छलफल गरेका थिए । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ट्रम्प र नेतन्याहूबीच यो सातौँ भेटवार्ता हो, जुन करिब तीन घण्टा चलेको थियो ।

भेटअघि प्रधानमन्त्री नेतन्याहूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग पनि भेट गरी ‘बोर्ड अफ पीस’ (शान्ति बोर्ड) को सदस्यका रूपमा हस्ताक्षर गरेका थिए । उक्त पहल इजरायली संसद्मा विवादास्पद बनेको फक्स न्युजले जनाएको छ ।

वासिङ्टन भ्रमणअघि नेतन्याहूले पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपतिसमक्ष इरानसँगको वार्ताका सिद्धान्तबारे इजरायलको अवधारणा प्रस्तुत गर्ने बताएका थिए । ‘यो इजरायलका लागि मात्र होइन, मध्यपूर्वमा शान्ति र सुरक्षा चाहने सबैका लागि महत्वपूर्ण छ,‘उनले भनेका थिए ।

नेतन्याहूको कार्यालयका अनुसार प्रधानमन्त्रीले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा सीमा तोक्न र हमास तथा हिजबुल्लाहजस्ता समूहहरूसँगको सम्बन्ध विच्छेद गराउन चाहेका छन् ।

यसैबीच, इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले सन् २०१५ को परमाणु सम्झौताभन्दा अझ राम्रो सम्झौता हुनसक्ने विश्वास व्यक्त गरे पनि आफ्नो देशको क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । वासिङ्टन र तेहरानबीच गत शुक्रबार ओमानको राजधानी मस्कटमा अप्रत्यक्ष वार्ता भएको थियो ।

राष्ट्रपति ट्रम्पले वार्ता असफल भएमा इरानविरुद्ध सैन्य कारबाहीका लागि मध्यपूर्व क्षेत्रमा दोस्रो विमानवाहक युद्धपोत समूह पठाउने विषयमा पनि विचार भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?