काठमाडौं । नेपाल प्रहरीले स्वदेशमा अपराध गरी विदेश भागेका १० जना फरार प्रतिवादीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँगको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी नेपाल फिर्ता ल्याएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेका अनुसार चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन’ जारी गरिएको थियो । तीमध्ये रेड नोटिस जारी भएका आठ जना र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा पक्राउ गरी स्वदेश ल्याइएको हो ।
यसअघि अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरुद्ध रेड नोटिस र दुई जनाविरुद्ध डिफ्युजन जारी गरिएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याइएको प्रहरीको तथ्याङ्क छ ।
प्रवक्ता काफ्लेले इन्टरपोलसँगको समन्वयमा अन्तरराष्ट्रियस्तरमा फरार प्रतिवादीहरूको खोजतलास, पक्राउ र कानुनी दायरामा ल्याउने कार्यमा नेपाल प्रहरी निरन्तर सक्रिय रहेको बताए । अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ छ ।
आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन, मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न तथा अपराध अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न सुरक्षा रणनीति अवलम्बन गर्दै कार्यक्षेत्रमा सक्रियता बढाएको पनि उनले जानकारी दिए ।
फरार प्रतिवादीहरूको अन्तरराष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले रेड नोटिस तथा डिफ्युजन जारी गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया