कांग्रेस सांसद परियार भन्छन् : ‘प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्’

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद पदम परियारले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनको समयमा निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै परियारले सरकारले गरेका पछिल्ला निर्णयले आगामी प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा शंका उत्पन्न गरेको बताए ।

उनी राष्ट्रको न्यायपालिका र नागरिक विश्वासमाथि असर पार्ने केही निर्णयप्रति असन्तुष्ट देखिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यलय र गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा सरकार आयोजक बनेको घटनालाई विवादास्पद भने ।

परियारले भने, ‘मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय भोगिरहेका उम्मेदवारको मुद्दा फिर्ता लिनु र एनआरएनएको निर्वाचनमा सरकार आयोजक हुनु नागरिकले सरकारलाई अमुक दल वा उम्मेदवारतर्फ पक्षधर मान्न थालेको प्रश्न उठाएको छ। प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुण तिर्नेतिर नलाग्नुहोस् ।’

सांसद परियारले विवादास्पद निर्णय पुनर्विचार गर्न र राज्य संयन्त्रलाई तटस्थ ढंगले परिचालन गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?