वित्तीय अपराध र मनी लाउन्डरिङ्गले युवा र समाजलाई जोखिममा पार्छ : गभर्नर पौडेल

लोकपथ
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पुर्‍याउने बताएका छन्  । 

 बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विश्वव्यापी रूपमा वार्षिक ३.६ बिलियन डलर बराबरको राजश्व नोक्सानी हुने वित्तीय अपराधले मानव पुँजी र सामाजिक–आर्थिक ढाँचालाई अझ कमजोर बनाएको बताए ।

गभर्नर पौडेलका अनुसार, वित्तीय अपराधले युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाउँछ, जसले नवीन सोच र सिर्जनशीलतामा लाग्ने क्षमतामा असर पुर्‍याउँछ । उनले भने, ‘कलिला मस्तिष्कहरूलाई सम्पत्ति शुद्धीकरण र अवैध सञ्जालमा प्रयोग गर्न लगाउने क्रम बढ्दो छ, जुन सबैभन्दा खतरनाक परिणाम हो ।’

उनले सीमापार वित्तीय अपराधले कानुनी छिद्र, प्रविधिगत कमजोरी र क्षेत्राधिकारका अस्पष्टताहरूको फाइदा उठाएर पैसा छिटो र सटिकतापूर्वक ओसारपसार गर्ने बताए । त्यसैले, उनले प्रतिक्रियात्मक होइन, निरोधात्मक सुपरीवेक्षण लागू गर्नुपर्ने र वित्तीय समावेशीकरणमा असर नपर्ने जोखिममा आधारित प्रणाली निर्माण आवश्यक भएको जोड दिए ।

गभर्नरले बैंकिङ, बीमा, धितोपत्र र सहकारी जस्ता सबै वित्तीय क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षापंक्तिको रूपमा काम गर्नुपर्ने बताए । उनले आजको जोखिम टार्ने मात्र नभई भोलिको अनिश्चितता सामना गर्न सक्ने प्रणाली निर्माण आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?