भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी सरकारकै काँधमा छ : प्रधानमन्त्री कार्की

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धि स्थापना गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेको बताएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणको मुख्य जिम्मेवारी सरकार र कार्यकारी अंगकै भएको स्पष्ट गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘कुनैपनि कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुख जिम्मेवार हुनुपर्छ । जबसम्म कार्यकारी अंग भन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म सुधार सम्भव छैन ।’

उनले वर्तमान सरकारले जेनजी युवाहरूको आन्दोलनको आधारमा सार्वजनिक सेवा नागरिकमैत्री बनाउने प्रयास गर्दै राहदानी, नागरिकता र अन्य सेवा सरल बनाएको दाबी पनि गरिन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई सदाचार र सुशासन स्थापनाको ऐतिहासिक महाअभियानको रूपमा लिन सबैमा आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनले मुलुकको राजनीतिक दिशा र भविष्यमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ । प्रतिनिधि सभामा योग्य, नैतिकवान र भ्रष्टाचार विरुद्ध स्पष्ट अडान भएका जनप्रतिनिधिहरूको थलो बनाउन जरुरी छ ।’

उनले थपिन्, ‘मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त हो । संविधानले अख्तियार जस्ता शक्तिशाली निकायको व्यवस्था गरेको छ । कानुनी, नीतिगत र संस्थागत संरचना पर्याप्त भए पनि कार्यान्वयनमा चुनौती देखिन्छ । त्यसैले प्रत्येक कार्यालयका प्रमुखले आफ्नो संस्थाभित्र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिनुपर्छ ।’

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको, अनावश्यक भर्ती रोकिएको र नागरिकसँग प्रत्यक्ष सरोकार भएका सेवा सरल, शीघ्र र सुलभ बनाएको पनि जानकारी गराइन् । उनले आगामी निर्वाचनलाई भ्रष्टाचार विरुद्धको अभियानको महत्त्वपूर्ण प्रस्थान बिन्दुका रूपमा लिनुपर्ने र नयाँ जनादेश प्राप्त सरकारले थप कदम चाल्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?