रास्वपालाई ओलीको काउन्टर– ‘चुपचाप छाप होइन, सोचीविचारी छाप’

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरुलाई मतदातासँग आफ्ना कुरा राख्ने र प्रश्न सुनेर जवाफ दिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूहरु सरकारमा रहँदा गरेको कामको फेहरिस्त जनतालाई बुझाएर मत माग्न आग्रह गरेका हुन् ।

‘देशभर चुनावी मैदानमा खडा भएका हाम्रो पार्टी नेकपा ९एमाले०का उम्मेदवार र प्रचारक साथीहरूलाई मेरो आग्रह छ । मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस्। उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस् । किनकि एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो,’ उनले भनेका छन् ।

ओलीले मतदाताहरुलाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर मात्र नभइ आफ्ना तथ्य प्रस्तुत गरेर मत माग्न आग्रह गरे ।

‘परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नु पर्छ । बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नु पर्छ । मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्याएर मतदान गर्ने अवसर दिनु पर्छ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताहरुले ‘चुपचाप घण्टीमा छाप’ भन्ने नारा अघि सारिरहँदा ओलीले त्यसप्रति कटाक्ष गर्दै ओलीले स्वस्थ निर्वाचनमा आँखा जुधाएर विमर्श र निर्णय हुने बताए ।

‘‘साइको थ्रेट’ले भन्छ– चुपचाप छाप । स्वस्थ निर्वाचन संस्कृतिले भन्छ- आँखा जुधाएर विमर्श र निर्णय । त्यसैले हाम्रो आह्वान । चुपचाप छाप होइन, सोचीविचारी छाप । आँखा खोलेर भविष्य निर्माण,’ ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?