नेकपाको घोषणपत्र : कुन दललाई कसरी हेरेको छ ? रास्वपालाई भन्यो– ‘पपुलिष्ट’

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मुलुकमा विद्यमान राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गरेको छ ।

मंगलबार आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेकपाले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘भदौ २४ को विध्वंशकारी तत्व’ सँग सम्बन्धित रहेको गम्भीर आरोप लगाएको छ ।

घोषणापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार भागमा वर्गीकरण गरिएको छ ।

नेकपाले आफूलाई क्रान्तिकारी शक्तिको रूपमा प्रस्तुत गर्दै समाज रूपान्तरणको स्पष्ट समाजवादी कार्यदिशा भएको दाबी गरेको छ। अर्कोतर्फ, नेकपा एमाले र नेपाली कांग्रेसलाई ‘यथास्थितिवादी’ को संज्ञा दिँदै उनीहरूसँग मुलुक अगाडि बढाउने कुनै नवीन अवधारणा नभएको टिप्पणी गरिएको छ ।

पार्टीले विशेष गरी नयाँ उदाउँदा शक्तिहरू (पपुलिष्ट) माथि प्रहार गरेको छ ।

घोषणापत्रमा भनिएको छ, ‘आफूलाई नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहीन र दृष्टिकोणविहीन छ । यो भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएको शक्ति हो ।’

यस्ता शक्तिहरूले मुलुकका समस्या समाधान गर्न नसक्ने र उनीहरू देश र जनताको हितमा नरहेको दाबी नेकपाको छ ।

त्यसैगरी, राप्रपालाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिको रूपमा चित्रित गरिएको छ ।

जनक्रान्तिद्वारा उखेलेर फ्याँकिएको सामन्ती राजतन्त्र फर्काउन खोज्ने यी शक्तिहरूले देशलाई पछाडि धकेल्ने चालबाजी गरिरहेको आरोप लगाइएको छ ।

विगतका जनसङ्घर्ष र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी गर्दै नेकपाले लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्व जस्ता अधिकारहरू आफ्नै कारण प्राप्त भएको उल्लेख गरेको छ ।

‘हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौँ,’ भन्दै नेकपाले अरू दलले गफ मात्र गर्ने तर आफूले काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?