काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले नयाँ हुनु केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र एजेन्डा बोकेको हुनु भएको स्पष्ट पारे ।
दाहालले निर्वाचनमा उपत्यकाभित्रका मतदाताहरूलाई सहभागी गराउन र मतदाता नामावली भएका क्षेत्रमा केन्द्रित हुन कार्यकर्ताहरूलाई योजनाबद्ध र संस्थागत रूपमा लाग्न निर्देशन दिएका छन् । उनले यस कामको प्रत्यक्ष प्रभाव निर्वाचनको नतिजामा पर्ने हुँदा आजैदेखि तयारी सुरु गर्न आग्रह गरे ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवाहक र उत्पीडित वर्ग, जाति तथा समुदायको पहिचान स्थापित गर्ने मुद्दा आफ्नो पार्टीको मुख्य आधार भएको उनले बताए ।
दाहालका अनुसार, ‘यो विचारभन्दा नयाँ र उन्नत विचार हाल नेपालको राजनीतिमा अरू कसैको छैन । विचार, नाम, संगठन र राजनीतिक मुद्दा सबै दृष्टिकोणले हाम्रो पार्टी नयाँ हो ।’
उनी सामाजिक सञ्जालमार्फत ‘नयाँ’ शब्दको गलत व्याख्या बनाउने प्रयासप्रति पनि आपत्ति व्यक्त गर्दै भने, ‘नयाँ भनेको केवल पुरानाको विरोध गर्नु होइन, विचार र राजनीतिक मुद्दा नै निर्णायक हुन्छ । उदार र दलाल पुँजीवादका पक्षधरहरू विश्व इतिहासकै पुराना विचारमा आधारित छन्, उनीहरू नयाँ हुन सक्दैनन् ।’
संयोजक दाहालले पार्टीको नयाँपन र वैचारिक अद्वितीयतालाई जनतासम्म पुर्याउन कार्यकर्ताहरूलाई जोड दिएका छन् ।
उनले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया