झापाको गौरीगञ्जमा ओली : सडक–पुलदेखि डिजिटल पहुँचसम्मका विकासका काम सुनाए

लोकपथ
56
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाको गौरीगञ्जमा आफ्नो राजनीतिक यात्रा र विकासका कामहरूको समीक्षा गर्दै यहाँको बदलिँदो स्वरूपलाई ‘सेल्फी रोड’ को संज्ञा दिएका छन् ।

२०२६ सालदेखि सङ्गठन विस्तारमा सक्रिय ओलीले गौरीगञ्जको पूर्वाधार, सामाजिक सुरक्षा र डिजिटल पहुँचलाई समृद्धिको नमुनाका रूपमा प्रस्तुत गर्दै विकासलाई केवल बाटो र पुलमा सीमित नराखी शिक्षा, चेतना र अन्धविश्वास विरुद्धको प्रयाससमेत जोड्नुपर्नेमा जोड दिएका छन् ।

ओलीले भने, ‘लेराको पुलको माग गर्दा धेरैले जिस्क्याए, तर हुलाकी बाटोलाई हुलाकी राजमार्गको रूपमा विकास गर्ने संकल्प पूरा भएपछि काम आफैँ सम्पन्न भयो । अहिले कन्काई र कमलाका पुलहरूमा देखिएका प्राविधिक त्रुटि सुधार्दै पुनर्निर्माण अघि बढेको छ ।’

उनले गौरीगञ्जको पूर्वाधार परिवर्तनलाई उदाहरण प्रस्तुत गर्दै चिल्ला सडक, आधुनिक पुल, विद्यालय, क्याम्पस भवन, खानेपानीका ट्याङ्कीसम्मको विकास उल्लेख गरेका छन् । मोबाइल र ४जी इन्टरनेट सेवाले गाउँलाई विश्वसँग जोडेको पनि उनले बताए ।

सामाजिक सुरक्षा, बालबालिका र पछाडि परेका समुदायको उत्थानमा सरकारले खर्च गरेको रकम ३७–३८ अर्ब पुगेको उल्लेख गर्दै ओलीले गरिबी र पछौटेपन हटाउन आवश्यक रहेको बताए । उनले अन्धविश्वास, बोक्सी प्रथा र कुलतका गतिविधिहरूको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए ।

शिक्षा, स्वास्थ्य र युवापुस्ताको सही मार्गदर्शनलाई गरिबी निवारणको प्रभावकारी उपायका रूपमा प्रस्तुत गर्दै ओलीले भने, ‘बालबालिकालाई शिक्षित बनाउँदा १५–२० वर्षमा गरिबी स्वतः हट्छ । युवाहरूले गलत सङ्गत र लागुपदार्थबाट टाढा रहनुपर्छ ।’

ओलीले परिवर्तन र विकासको लागि हिंसा वा आगो लगाउने उपाय नभई निर्माण र पुनर्निर्माणमार्फत अघि बढ्नुपर्नेमा जोड दिए । भूकम्पपछिको पुनर्निर्माण र हावाहुरी पीडितको आवास निर्माणमा नेपाललाई विश्वकै नमुना बनाएको दाबी पनि उनले गरे ।

ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा गौरीगञ्जका जनताको निरन्तर साथ रहने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?