झापामा ओलीले भने– ‘जात र कुप्रथाभन्दा माथि उठेर राष्ट्र निर्माणमा लागौँ’

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माण, सामाजिक अन्धविश्वासको अन्त्य र राष्ट्रिय एकताको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।

झापाको गौरीगञ्जमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले सञ्चालन गरेका विकासका आयोजना जनताको जीवनस्तर सुधार्ने उद्देश्य राखेको दाबी गरे ।

उनले विगत २६–२७ वर्षदेखि झापाको विकासमा आफू संलग्न रहेको स्मरण गराउँदै, हुलाकी राजमार्ग र ठूला पुलहरू जस्ता आयोजना पहिले उपहासको विषय थिए तर आज वास्तविकतामा परिणत भइसकेको उल्लेख गरे ।

ओलीले गरिबी र पिछडोपनलाई संस्कृति मान्न नहुने भन्दै, गुइँठा र दाउराको सट्टा बिजुली र स्वदेशी ग्यासको प्रयोगमा जोड दिए । उनले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग व्यक्तिको संरक्षण राज्यको दायित्व भएको र एमाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको बताए ।

सामाजिक चेतनाको महत्व औंल्याउँदै ओलीले बोक्सी प्रथा जस्ता कुप्रथाहरू विज्ञान र शिक्षाको दृष्टिकोणले अन्त्य गर्नुपर्ने बताए । उनले अभिभावकहरूलाई आफ्ना छोराछोरी, विशेषगरी छोरीहरूलाई उच्च शिक्षा दिलाउन आग्रह गर्दै भने, ‘२० वर्षपछि पढाइले छोराछोरीलाई डाक्टर, इन्जिनियर, वकिल वा म्यानेजर बनाउँछ र गरिबी हटाउँछ ।’

राजनीतिक रूपमा उनले एमालेको नेतृत्वमा मात्र नेपालको अन्तर्राष्ट्रिय साख सुरक्षित रहने र विकासले गति लिने दाबी गरे । ओलीले जातिवाद, भ्रम र कुप्रथा भन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?