काठमाडौं । देशभर निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरू आ–आफ्ना योजना, सपना र एजेन्डा बोकेर मतदाताको घरदैलोमा व्यस्त छन् । विकास, समृद्धि र परिवर्तनका आकर्षक भाषणले गाउँ–बस्ती गुञ्जायमान भइरहेका छन् । तर उत्तरी धादिङका केही गाउँका मतदाताका लागि चुनावी नाराभन्दा ठूलो मुद्दा एउटा मात्रै छ– कास्टे खोलामा पक्की पुल ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर २ र ३ को सिमानामा रहेको कास्टे खोलामा पुल नहुँदा त्रिपुरासुन्दरी मात्र होइन, गंगाजमुना गाउँपालिकाको बुडाथुम, बसेरी र छिमेकी गोरखा जिल्लाको मान्बु क्षेत्रसम्मका स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
सदरमुकाम धादिङबेसीसँग जोडिने यो मुख्य मार्ग पुल अभावकै कारण हरेक वर्ष ३ देखि ४ महिना पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ ।
हिउँदको समयमा खोलामा पानी कम हुँदा अस्थायी पुल वा स्थानीय तहले हालिदिएको कल्भर्टको भरमा आवतजावत भए पनि वर्षायाम सुरु भएसँगै अवस्था भयावह बन्छ ।
असार र साउनमा आउने बाढीले अस्थायी संरचना बगाउँदा स्थानीयको सदरमुकामसँग सम्पर्क नै विच्छेद हुन्छ । तीन महिना जति यातायात ठप्प हुँदा विद्यालय जाने विद्यार्थी, बिरामी, गर्भवती महिला र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित हुने गरेका छन् ।
स्थानीयका अनुसार वर्षायाममा खोलो तर्न नसक्दा सामान्य उपचारका लागि समेत घरमै बस्नुपर्ने बाध्यता छ । गम्भीर बिरामी भएमा स्ट्रेचरमा बोकेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अझै पनि उस्तै छ । सडक जेठदेखि बन्द हुने र दशैँ आसपास मात्र खुल्ने भएकाले वर्षाको समयमा पीडा सहनु बाहेक स्थानीयसँग अर्को विकल्प छैन ।
राजधानीसँग सिधा सिमाना जोडिएको जिल्ला भएर पनि यस्तो दुर्दशा हुनु आफैँमा विडम्बनापूर्ण भएको स्थानीय बताउँछन् । अझ पीडादायी कुरा के छ भने, हरेक निर्वाचनमा यही पुल सबै दलको चुनावी घोषणापत्रमा पर्छ ।
उम्मेदवारहरू ‘हामी जित्यौँ भने पुल बन्छ’ भन्दै भोट माग्छन्, तर चुनाव सकिएपछि यो मुद्दा फेरि ओझेलमा पर्ने गरेको गुनासो स्थानीयको छ ।
यो क्षेत्रबाट विगतमा एमाले र कांग्रेसका उम्मेदवार पटक–पटक निर्वाचित भए । कतिपय उम्मेदवार दोहोरिए पनि कास्टे खोलाको अवस्था भने जस्ताको तस्तै रह्यो । अहिले पनि आसन्न निर्वाचनका लागि १५ जना विभिन्न दलका र ८ जना स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबैको साझा एजेन्डा फेरि पनि यही पुल बनेको छ ।
तर स्थानीय भने कुनै पार्टीको दाबीभन्दा पनि काम गरेर देखाउने उम्मेदवार खोजिरहेका छन् । उनीहरू भन्छन्, ‘हामीलाई भाषण होइन, पक्की पुल चाहिएको हो ।’ कास्टे खोलाको नाममा भोट माग्ने परम्परा यसपटक अन्त्य होस् भन्ने स्थानीयको अपेक्षा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया