काठमाडौं । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा आज सोमबार बरामद गर्ने क्रममा झडप हुनु अघिल्लो दिन नै गुप्ताले वीरगन्जबाट पोखरा पठाउन लागेको ७१ लाख रुपैयाँबराबरको हार्डवेयरको सामान बोकेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ ।
ना ख ५०५२ नम्बरको ट्रकमा भिसिटिएस बिल बिनाको सामान सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म वीरगन्जले वीरगन्ज महानगरपालिका–१४ स्थित पिपरा चोकबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राति नै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो ।
सोही आधारमा उनले सञ्चालन गरेको अवैध गोदाममा समेत भन्सार छलीको सामान रहेको सूचनाको आधारमा आज सोमबार बिहान छापा हानिएको जनाइएको छ । सोही क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसक्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए ।
आज बरामद गरिएको सामानमा कुर्ता सुरुवाल र साडी रहेको जनाइएको छ । बरामद सामानको मूल्य १२ लाख ७२ हजार मूल्य कायम गरेर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया