प्रेम राईको दाबी– ‘म आएपछि अख्तियारको कार्यशैली फेरिएको छ’

लोकपथ
126
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताएका छन् ।

आयोगको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताएका हुन् ।

उनले सुशासन कायम गर्नको लागी संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र दुरुस्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

भ्रष्टाचार नियन्त्रणमा अख्तियार अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको उनको भनाई छ ।

सुशासन कायम गर्न सरकार, नागरिक समाज र सञ्चारजगत सबैको भुमिका अपरिहार्य रहेको बताए । उनले अख्तियार ऐन, नियम र कानुन अनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको बताए ।

भ्रष्टाचार नियन्त्रणको लागि जनशक्ति वृद्धि, कार्यशैलीमा परिवर्तन र प्रविधिको प्रयोग बढाइएको उनको भनाई छ । उनले प्रविधिको विकाससँगै भ्रष्टाचारका प्रवृत्ति पनि जटिल बन्दै गएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रणका लागि अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाई छ । उहाँले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको पनि दाबी गरे । पाँच वर्षे कार्यकालमा आयोगको स्तर वृद्धि गरिएको उल्लेख गर्दै उनले हालको कार्यशैलीले समाजमा सुशासनप्रति आशा जगाएको बताए ।

उनले भने, ‘सुशासनको लागी हामी काम गर्दै आईरहेको छौँ । ऐन, नियम, कानून अनुसार भ्रष्टाचार नियन्त्रणको काम गर्दै आएका छौँ । हामीले जनशक्ति थप्यौ, काम गर्ने तरिकाहरु हामीले बदल्यौँ, प्रविधिहरु पनि फेरि बढ्दै गएको छ । सोही अनुसार भ्रष्टाचारको प्रवृत्तिहरु पनि बढ्दै गएको छ । भ्रष्टाचारको अवस्था झन जटिल र कठिन बन्दै गएको छ । त्यसैले हामीले अझै सशक्त ढंगले बढ्नुपर्ने अवस्था देखिएको छ । हाम्रो मुख्य काम सुशासन कायम गर्नु नै हो । सुशासन कायम गर्ने कुरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक्लैले गर्ने होईन । यसमा सबैको सहयोग आवश्यक छ, सुशासन कायम गर्ने दायित्व नागरिक समाज, सञ्चारजगत सबैको हो । तर त्यो बोध हामीले गराउन सकेको अवस्था छैन । हामीले भन्ने गरेका छौँ, भ्रष्टाचार नियन्त्रण सरकारको काम हो, सरकारले पहिलो प्राथमिकता दिनुपर्‍यो । सरकारले नै ऐन, नियम, कानुनको परिपालना चुस्त, दुरुस्त रुपमा कार्यन्वयन गराउनुपर्‍यो । स्थानीय, प्रदेश, संघीय सरकार सबैको जिम्मेवारी र जवाफदेहिता हो । तर पनि द्वन्दात्मक रुपमा हामीले अन्तिम अस्त्रको रुपमा हामी प्रयोग हुन्छौँ । हामीले काम कारबाही गरिहेका छौँ । यही हिसावमा हामी सुशासन कायम गर्न तल्लिन रहनुपर्छ । अहिले हामीले जुन हिसाबले काम गरिरहेका छौँ, त्यसबाट समाजमा आशा जगाएको छ । हामी २०७७ सालको माघ २१ गते जुन अवस्थामा यहाँ हाजिर भइएको थियो र अहिले यहाँ आईपुग्दाखेरि विगतमा आयोगलाई हेर्ने दृष्टिकोण र अहिले हेर्ने दृष्टिकोण फरक छ । विगतमा आचोलना हुने गरेको थियो । अहिले आलोचना १०० प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ । पाँच वर्षे कार्यकालमा हामीले आयोगको स्तर बढाएका छौँ ।’

आयोगले स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, आयोगका कर्मचारी तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

आयोगले उत्कृष्ट अख्तियार सेवा पुरस्कार र उत्कृष्ट अनुसन्धान अख्तियार पुरस्कार भने माघ २८ गते स्थापना दिवसको मुल समारोह समितिमा वितरण गर्ने प्रमुख आयुक्त राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?