वैदेशिक रोजगारीमा पठाउने भन्दै मोटो रकम ठगी गरी फरार पाँच जना पक्राउ 

लोकपथ
231
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै मोटो रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र दुई पुरुष छन् । 

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका–२ घर भएकी ४३ वर्षीया कोपिला शर्मा, काठमाडौं महानगरपालिका–२६ बस्ने धनकुटाको धनकुटा नगरपालिका–२ घर भएका ३१ वर्षीय सन्तोष राई, ललितपुरको धापाखेल बस्ने काठमाडौंको कीर्तिपुर नगरपालिका–२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया बिन्दा महर्जन र बुढानीलकण्ठ नगरपालिका–११ बस्ने काभ्रेको चौँरीदेउराली–९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पीडितको उजुरीको आधारमा विना र बिन्दालाई काठमाडौं महानगरपालिका–११ बाट, कुमारीलाई काठमाडौं महानगरपालिका–४ बाट, कोपिलालाई चन्द्रागिरि नगरपालिका–१४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै युवाहरूबाट रकम ठगी गरेको आरोप उनीहरूमाथि रुहेको छ । प्रारम्भिक अनुसन्धानले सो कुराको पुष्टि गरेको पनि प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रुपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रुपैयाँ, विना र बिन्दाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रुपैयाँ र सन्तोषले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७० हजार रुपैयाँ असुलेका थिए । रकम असुलेपछि उनीहरू सम्पर्कविहीन बनेका थिए । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको र  उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?