काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ ।
तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ ।
५ वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ पुगेको छ । साथै नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै १७ जना शिशुको मृत्यु हुने गरेको तथ्याङ्क कार्यलयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको छ ।
सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६ बालमृत्यु हुने गरेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० जना रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी ३८ र बागमतीमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत सुदूरपश्चिममा ४८ पुगेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ ।
नेपालको कुल प्रजनन दर प्रतिमहिला १ दशमलव ९ मा झरेको छ । तर १५–१९ वर्षका किशोरीहरूमा प्रति १ हजारमा ४८ जनाले जीवित बच्चा जन्माएको पाईएको छ । यो तथ्याङ्कले किशोरी गर्भधारण अझै चुनौतीको रूपमा रहेको देखाउँछ । २०–२४ वर्ष उमेर समूहका ११.२ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बच्चा जन्माएको पाइएको छ । गत दुई वर्षभित्र सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक गर्भजाँच गराएको छन् । ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामै सुत्केरी गराएको र २५.३ प्रतिशतले शल्यक्रियाबाट सुत्केरी गराएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
बाल पोषणमा गम्भीर अवस्था
सर्वेक्षण प्रतिवेदनअनुसार ५ वर्षमुनिका बालबालिकामध्ये ३१.५ प्रतिशत पुड्कोपन र २४.३ प्रतिशत तौल कमी (लिखुरेपन) को समस्यामा छन् । मधेस प्रदेशमा तौल कमी भएका बालबालिकाको प्रतिशत सबैभन्दा बढी ३३.२ रहेको छ भने सबैभन्दा कम बाग्मतिमा ९.६ प्रतिशत रहेको छ । यस्तै ६ महिनासम्म आमाको दूध मात्र खुवाउने दर ६९.७ प्रतिशत रहेको छ भने १२–२३ महिनाका बालबालिकामध्ये ८०.७ प्रतिशतले मात्र सबै खोप पूरा गरेका छन् ।
आधारभूत विद्यालय कक्षा (१–५) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरू ४१.२ प्रतिशत रहेको छ । ८५.४ प्रतिशत ५ वर्षमुनिका बालबालिकाहरूको जन्मदर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ ।
९६.७ प्रतिशत घरमा विद्युत्, इन्टरनेट प्रयोग ८२ प्रतिशत
सर्वेक्षणअनुसार ९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत् सेवामा पहुँच पुगेको छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशमा पहुँच सबैभन्दा बढी ९९ दशमलव ५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ८० दशमलव ८ प्रतिशत रहेको छ । टेलिफोन सेवा ९५ दशमलव ५ प्रतिशत घरपरिवारको पहुँच छ भने इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने घरपरिवार ८२ प्रतिशत पुगेका छन् ।
सर्वेक्षणअनुसार नेपालमा ५.१ प्रतिशत तथा ४१.८ प्रतिशत क्रमशः १५–४९ वर्ष उमेर समूहका महिलाहरू तथा पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । नेपालको कूल जनसंख्याको ९८.२ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानीको स्रोत प्रयोग गरेका छन् भने ९२.४ प्रतिशतले सुधारिएको चर्पीहरूको प्रयोग गर्ने गरेका छन् ।
स्वास्थ्य बीमामा न्यून सहभागिता
१५–४९ वर्ष उमेर समूहका महिलामध्ये १७.८ प्रतिशत र पुरुषमध्ये १९.६ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेका छन् । पाँच वर्षमुनिका बालबालिकामा यो दर ११.७ प्रतिशत मात्र रहेको छ ।
तथ्याङ्क कार्यालयकाअनुसार यो सर्वेक्षण युनिसेफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको नेपालको चौथो बहुसूचक सर्वेक्षण हो । यस सर्वेक्षणले संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माणका लागि महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले महिला तथा बालबालिकाको अवस्था मूल्यांकन, नीति निर्माण र दिगो विकास लक्ष्य (एसडिजीएस) का सूचकहरूको अनुगमन गर्ने उद्देश्यले सर्वेक्षण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया